जिल्ला मै पहिलो पटक रुकुम पूर्वको सिस्ने गाउँपालिकाले नगर प्रहरी नियुक्ति गरेको छ । तीन पुरुष र एक महिला गरी चार जनालाई नगर प्रहरीमा नियुक्ति गरिएको हो । नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी जवान पुरुष दुई जना र महिला एक जना गरी ४ जना नगर प्रहरी नियुक्ति गरिएको सिस्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सिस्ने गाउँपालिका वडा नम्बर ४ का शेरबहादुर केसी नगर प्रहरी सहायक निरीक्षकमा नियुक्ति हुँदा सिस्ने गाउँपालिका वडा नम्बर ५ का सुनिल बोहरा, वडा नम्बर ६ का दिलिप नेपाली र सिस्ने ५ की संगिता बुढाथोकी नगर प्रहरी जवानमा नियुक्ति हुनुभएको छ । यस्तै सिस्ने गाउँपालिका वडा नम्बर ८ की गंगा कल्याल नगर प्रहरी जवान वैकल्पिक सूचिमा छनोट पर्नुभएको छ ।
गाउँपालिकाको जेठ ३२ गते प्रकाशित नगर प्रहरी करारमा पदपूर्ति गर्ने सम्बन्धि सूचना बमोजिम असार २२ र २३ गते लिइएको शारीरिक तन्दुरुस्ती परिक्षण र असार २६ गते लिखित परीक्षा लिएको थियो । भने २७ गते अन्तरवार्ता लिएको थियो । शारीरिक तन्दुरुस्ती परिक्षण, लिखित परीक्षा र अन्तरवार्ता समेतको प्राप्त अकंको आधारमा उक्त चार जनालाई नगर प्रहरीमा नियुक्ति गरिएको प्रमुख प्रशासकीय अधिकृत बुढाथोकीले जानकारी दिनुभयो । नियुक्ती गरिएका नगर प्रहरीलाई एक हप्ता भित्र गाउँपालिमा उपस्थित हुन भनिएको छ । अन्य २ गाउँपालिका भूमे र पुथा उतरगंगा गाउँपालिकाले भने अझै नगर प्रहरी नियुत्ति गरेका छैनन् ।