रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले एकीकृत सेवा प्रवाह सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । नगरपालिकाले शुक्रवारदेखि सेवा प्रवाह सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको हो । सेवा केन्द्र सञ्चालनमा आएसँगै नगर कार्यपालिकाको कार्यालयबाट प्रवाह हुने सेवालाई सेवाग्राही मैत्री बनाउन सहज हुने अपेक्षा गरिएको छ । सेवा केन्द्रबाट सेवाग्राहीको एकीकृत बन्दोबस्त गर्ने र सेवाको लागि कति नम्बर कोठामा जाने, के के कागजात चाहिने सबै कुरा एकीकृत सेवा प्रवाहबाट नै हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
उहाँका अनुसार एकीकृत सेवा प्रवाह केन्द्रबाट आफ्नो कामको लागि कसलाई भेट्ने, लगायतका समस्याको समाधान एकीकृत सेवा प्रवाहले नै गर्ने छ । एकीकृत सेवा प्रवाह केन्द्र सञ्चालनमा आएसँगै सेवाग्राही फाइल बोकेर सम्बन्धित शाखा, उपशाखा, इकाई तथा फाँटमा जान आवश्यक नपर्ने ढकालले जानकारी दिनुभयो ।
अब काम भएर सेवाग्राहीको हातमै सेवा आइपुग्ने व्यवस्था छ । फाइल ओसारपसारको बन्दोबस्त कार्यालयले आफ्नै जनशक्तिबाट मिलाएको र यसलाई व्यवस्थित गर्न एकीकृत सेवा प्रवाह सञ्चालन कार्यविधि, २०८० जारी गरिएको छ । एकीकृत सेवा प्रवाहबाट सेवा लिँदा सेवाग्राहीले विद्युतीय टोकन प्रणालीको प्रयोग, सेवा प्रवाहको अवस्था तथा प्रगति सम्बन्धी सेवाग्राही प्रतीक्षा कक्षमा सूचना बोर्ड मार्फत जानकारी, समय कार्डको व्यवस्था, कुन शाखा, उपशाखा, फाँट र इकाई सँग सम्बन्धित सेवा हो भन्ने बारे फाइल वर्गीकरण पश्चात् शाखा,उपशाखा, फाँट र इकाई प्रमुखलाई सूचना प्राप्त हुने व्यवस्था गरिएकाे छ ।
यसका साथै सेवाका लागि फाइलको प्रगति बारे सेवाग्राहीलाई अडियो मार्फत जानकारी, सेवा पश्चात् सेवाग्राही सन्तुष्टि सर्वेक्षण, गुनासो सुनाइ र साप्ताहिक रूपमा फर्छ्यौट गर्ने व्यवस्था समेत मिलाएको निमित्त प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिनुभयो ।