रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ पेल्माका लक्ष्मीप्रसाद पुन मगरको बारीमा तीन सय स्याउका बोट छन् । पुनको बारीमा वर्षमा अनुमानित आठ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन हुन्छ । तर उहाँसँग अहिलेसम्म स्याउ बिक्रीबाट पैसा आएको याद छैन । बोटमा फलेको स्याउ सबै बारीमै कुहिन्छ पुन मगरले भन्नुभयो-'बजार टाढा छ, गाउँसम्म सडक जोडिएको छैन, अनि हामीले उत्पादन गरेको स्याउबाट कसरी आम्दानी हुन्छ ।' खच्चरमा ढुवानी गरेको स्याउ व्यापारीले किन्न नमान्ने उहाँको भनाई छ । गाउँबाट बजार टाढा भएको कारण धेरै ठाउँमा लोड अनलोड गर्दा स्याउमा क्षति हुने गरेको छ ।
सोही ठाउँका जितराम विकको बारीमा पनि पाँच सय स्याउका बोट छन् । विकको स्याउ बगैँचाबाट एक सिजनमा १२ लाख रुपैयाँ बराबरको स्याउ उत्पादन हुन्छ । तर उहाँलाई पनि लक्ष्मीप्रसाद जस्तै स्याउ बिक्रीबाट अहिलेसम्म आम्दानी भएको सम्झना छैन । बगैँचामा फलेको स्याउ कुहिएर खेर जाने गरेको छ । लामो समयको मिहिनेतले फलाएको स्याउ बारी मै कुहिने गरेको विकले बताउनुभयो ।
लक्ष्मीप्रसाद र जितरामले मात्र होइन पेल्मावासीले नै उत्पादित स्याउबाट आम्दानी लिन सकेका छैनन् । अब भने बाध्यता खुसीमा बदलिने भएको छ । यस वर्ष देखि भने पेल्मामा उत्पादन भएको स्याउले किसानलाई आम्दानी दिने भएको छ । २ नम्बर वडामा उत्पादन भएको स्याउलाई बजारसम्म पुर्याउन नसकिने भएपछि वडा मै वाइन बनाउन लागिएको हो । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वको आर्थिक तथा प्राविधिक सहयोग र पुथाउत्तरगंगा गाउँपालिकाको समन्वयमा वाइन मेशिन जडान गरिएको छ ।
आर्थिक वर्ष २०८०/८१ को स्वीकृत कार्यक्रम अन्तर्गत आठ लाख रुपैयाँमा वाइन मेशिन खरिद गरिएको हो । दुई सय लिटर प्रशोधन क्षमता रहेको वाइन मेशिन वडामा रहेको हिमाली जैविक कृषि बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गर्ने भएको हो । सहकारी मार्फत वडाका स्याउ उत्पादक ४७ जना कृषक लाभान्वित हुने भएका छन् । लुम्बिनी प्रदेश सरकारको स्थानीय स्तरमा उत्पादित बस्तुहरूको प्रशोधन कार्यक्रम अन्तर्गत पेल्मामा वाइन मेशिन राखिएको एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख पीताम्बर बस्नेतले जानकारी दिनुभयो ।
दुर्गम बस्तीमा उत्पादित स्याउको बजारीकरणका साथै स्थानीयलाई रोजगारी तथा आयआर्जनमा जोड्ने मुख्य उद्देश्य रहेको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । पेल्मामा लुम्बिनी प्रदेश मै पहिलो पटक वाइन मेशिनको स्थापना गरिएको हो । बिहीबार गरिएको वाइन परीक्षणबाट परीक्षण सफल भएको छ । गत वर्षको पुस महिना राखिएको स्याउबाट वाइन परीक्षण गरिएको हो । पेल्मामा उत्पादन भएको स्याउले आम्दानी दिने भएपछि किसान खुसी भएका छन् । जिल्लाका तीन गाउँपालिका मध्ये पुथाउत्तरगंगा गाउँपालिकामा सबै भन्दा बढी स्याउ उत्पादन हुने गरेको छ । पेल्मालाई जिल्लाको स्याउ उत्पादनको पकेट क्षेत्र घोषणा समेत गरिएको छ ।