रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा निर्माण भएको जनविकास पुस्तकालयको भवन उद्घाटन गरिएको छ । शनिवार बिहान एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पानसमा बत्ती बालेर भवनको उद्घाटन गर्नुभएको हो । भवन निर्माण कार्य सम्पन्न भएपछि आज उद्घाटन गरिएको जनविकास पुस्तकालयका सदस्य हरिबिष्णु ओलीले जानकारी दिनुभयो । यो भवनको निर्माण कार्य तत्कालीन जिल्ला विकास समिति छदा नै सुरु भएको थियो । अहिले कर्णाली प्रदेश सरकारको लगानीमा निर्माण सम्पन्न भएपछि भवनको उद्घाटन गरिएको ओलीले बताउनुभयो ।
भवन निर्माणका लागि मुसिकोट नगरपालिकाको समन्वयमा कर्णाली प्रदेश सरकारबाट चालु आर्थिक वर्ष २०८०/०८१ मा ४० लाख आएको थियो । टेन्डर प्रक्रियामा जाँदा ३१ लाखमा ठेक्का लागेको थियो । उक्त बजेटबाट भवनको तेस्रो तला थप गरिनुका साथै दोस्रो तलालाई फिनिसिङ गर्ने काम भएको सदस्य ओलीको भनाई छ । दुई तलासम्म यस अघि नै निर्माण भए पनि फिनिसिङको काम बाँकी रहेको थियो । यो सँगै यसै बजेटबाट एउटा स्मार्ट बोर्ड, ४ वटा कम्प्युटर, एउटा ल्यापटप, १ लाख ७ हजारका पुस्तक, डेकोरेशन, फर्निचरका सामग्री, शौचालय, खानेपानी देखि इन्टरनेटको व्यवस्थापन समेत भएको उहाँले बताउनुभयो ।
अब तत्काल एक जना कर्मचारीको व्यवस्थापन र बैठक हलमा कुर्सी, टेबल लगायतका फर्निचरका सामग्री आवश्यक रहेको ओलीले बताउनुभयो ।
सर्वसाधारणका लागि पुस्तकालय खुला
यसैबिच अब सर्वसाधारणका लागि जनविकास पुस्तकालय खुला रहने भएको छ । इच्छुक जो सुकैले पनि पुस्तकालयमा पुगेर आफूलाई मन परेको पुस्तक पढ्न पाउने जनविकास पुस्तकालयले जनाएको छ । लगभग सबै प्रकारका पुस्तक पुस्तकालयमा राखिएको र यसलाई थप्दै लगिने सदस्य ओलीले जानकारी दिनुभयो ।
त्यस्तै पुस्तकालयलाई थप व्यवस्थित गर्नका लागि साधारण सदस्य र आजीवन सदस्यता वितरण गर्ने योजना रहेको छ । जनविकास पुस्तकालयका अध्यक्ष मीनबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख तथा उपप्रमुख विमलकुमार पुन र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा जिल्लास्थित सरोकारवालाहरूको उपस्थिति रहेको थियो । जनविकास पुस्तकालयका सदस्य हरिबिष्णु ओलीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिव गिरीप्रसाद बुढाले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुसिकोट नगर प्रमुख केसीले यो पुस्तकालय हराउँदै गएको पढ्ने वाणीको विकास गर्न सहयोगी साबित हुने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै नगर उपप्रमुख पुन र प्रमुख जिल्ला अधिकारी पन्तले ज्ञानको दायरा फराकिलो बनाउन पढ्ने वाणीको विकास हुनुपर्ने र यसका लागि यो पुस्तकालयले भूमिका खेल्ने बताउनुभयो । यो पुस्तकालय त्रिभुवन जनता मावि सँगै सटेको छ भने जिल्ला समन्वय समितिको प्रवेशद्वारमा रहेको छ ।