रोल्पा थवाङका मनकुमार रोकाले ट्रेल रेसमा अर्को सफलता प्राप्त गर्नुभएको छ । व्यावसायिक ट्रेल रेसका लागि हाल स्विट्जरल्याण्डमा रहनुभएका मनकुमारले २८ किलोमिटर दुरीकाे ट्रेल रेसमा तेस्रो स्थान प्राप्त गर्नुभएको छ । यसअघि भएको विश्वभरका १ हजार ५ सय धावकले भाग लिएको ५० किलोमिटर दुरीको ट्रेल रेसमा उहाँ आठौँ हुनुभएको थियो ।
यस प्रतियोगितामा भने उहाँले आफ्नो प्रदर्शनमा व्यापक सुधार गर्दै तेस्रो स्थान प्राप्त गर्नुभएको हो । विभिन्न मुलुकका ८ सय जना धावकले प्रतिस्पर्धा गरेको प्रतियोगितामा तेस्रो बन्न मनकुमारले निर्धारित २८ किलोमिटर दुरी २ घण्टा २४ मिनेट १४ सेकेन्डमा पुरा गर्नुभयो । प्रथम र दोस्रो हुने धावक भन्दा मनकुमार केही मिनेटले मात्र पछि पर्नुभयो । प्रथम स्थान हात पारेका कोलम्बियाका धावकले २ घण्टा १९ मिनेटमा दुरी पार गर्दा दोस्रो हुने इथियोपियाका धावकले २ घण्टा २२ मिनेटमा दौड पुरा गरेका थिए ।
मनकुमारलाई ट्रासिस यांकी रनिङ क्लब अफ स्विट्जरल्याण्डले स्विट्जरल्याण्ड लगेको हो । करिब ३ महिनाको सम्झौतामा तीन वटा प्रतियोगितामा आफू स्विट्जरल्याण्ड पुगेको मनकुमारले बताउनुभयो । अझै दुई वटा प्रतियोगितामा आफूले भाग लिन लागेको उहाँको भनाई छ । एउटा प्रतियोगिता अगस्ट १० मा हुने छ भने यसको दुरी तोकिन बाँकी रहेको छ ।
हालसम्म भएका २ वटा रेसलाई हेर्दा आफ्नो प्रदर्शनमा सुधार आएको र आगामी रेसमा अझ राम्रो नतिजा निकाल्ने गरी तयारी गरिरहेको उहाँले बताउनुभयो । देशलाई चिनाउने आफ्नो लक्ष रहेको उहाँको भनाई छ । अर्को रेस भने ७० किलोमिटरको रहेको र सेप्टेम्बर १३ मा हुने मनकुमारले बताउनुभयो ।
मनकुमार केही वर्ष देखि ट्रेल रनिङमा सक्रिय हुनुहुन्छ । उहाँले देश भित्रका विभिन्न ट्रेल रेसमा पनि सहभागिता जनाइसक्नु भएको छ भने धेरै प्रतियोगिता जिती सक्नुभएको छ ।