आगामी मङ्सिरमा कर्णाली प्रदेशमा हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा विभिन्न ३६ वटा खेल समावेश हुने भएका छन् । प्रतियोगितामा समावेश प्रस्तावित खेल र उक्त खेल सञ्चालन हुने प्रस्तावित जिल्ला सार्वजनिक गरिएको छ । दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश भए पनि कर्णालीमा सञ्चालन गर्न सकिने खेल, त्यसको समय तालिका र खेल सञ्चालन हुने प्रस्तावित जिल्लाको नाम सार्वजनिक गरिएको हो ।
कर्णाली प्रदेश खेलकुद परिषदले प्रदेशका ७ जिल्लामा खेल सञ्चालन गर्ने प्रस्ताव गरेको छ । जसअनुसार अधिकांश खेल सुर्खेतमा सञ्चालन हुने छन् । कर्णालीमा सञ्चालन गर्न सकिने २४ मध्ये सुर्खेतमा १७ वटा खेल सञ्चालन हुने छन् । जसमा महिला पुरुष फुटबल, क्रिकेट, भलिबल लगायतका मुख्य खेलहरू रहेका छन् । जुम्लामा २ वटा खेल सञ्चालन हुँदा रुकुम पश्चिम, कालिकोट, दैलेख, हुम्ला र सल्यानमा १–१ वटा खेल सञ्चालन हुने छन् । रुकुम पश्चिममा आइटिएफ तेक्वान्दो खेल सञ्चालन हुने प्रस्तावित खेल तालिकामा उल्लेख छ ।
बाँकी १२ वटा खेलको समय प्रस्ताव गरिए पनि स्थान भने तोकिएको छैन । जसमा टेनिस, सफ्ट टेनिस, स्क्वास, आर्चरी, फेन्सिङ, सेपाक्टाक्रो महिला पुरुष, सुटिङ, गल्फ, साइक्लिङ, ट्रायथेलन र प्याराग्लाइडिङ खेल रहेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर २ गते देखि ९ गतेसम्म सञ्चालन गर्ने गरी समय तोकिएको छ ।
तर केही खेल भने यो भन्दा अघि नै सञ्चालन गर्ने प्रस्ताव गरिएको छ । कार्तिक २७ गते सुरु हुने प्रस्तावित खेलहरूमा महिला फुटबल, उसु, बास्केटबल महिला÷पुरुष, जुडो, तेक्वान्दो र महिला/पुरुष हक्की रहेका छन् । त्यस्तै कार्तिक २८ गते महिला/पुरुष ह्यान्डबल सुरु हुनेछ भने कार्तिक २९ गते महिला पुरुष क्रिकेट, फेन्सिङ र मङ्सिर १ गते महिला भलिबल र फुलकन्ट्याक्ट सुरु हुनेछ ।
कुन जिल्लामा कुन खेल ?