घरको तीन तलाबाट खसेर घाइते भएका रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ रावलबाराका ३ वर्षीय सबिन रावलको उपचारका लागि सहयोग जुट्ने क्रम जारी छ । यस क्रममा मुसिकोटको विजयश्वरी बोर्डिङ स्कुलले ८२ हजार २ सय ६५ रुपैयाँ सहयोग गरेको छ ।
स्कुल प्रशासन र शिक्षक शिक्षिकाको तर्फबाट एकमुष्ट ७५ हजार ७ सय ६५ रुपैयाँ र विद्यालयमा कार्यरत कर्मचारीहरूको तर्फबाट ६ हजार ५ सय गरी कुल ८२ हजार २ सय ६५ रुपैयाँ सहयोग गरिएको प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो । सविन यसै स्कुलमा मन्टेश्वरीमा अध्ययनरत थिए ।
परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोग पुर्याउने उद्देश्यले सकेको सहयोग गरेको प्रिन्सिपल थापाले बताउनुभयो । सविनको हाल शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।
अहिलेसम्मको उपचारमा ठुलो धनराशि खर्च भइसकेको र उपचारमा समस्या भएको भन्दै सविनको परिवारले सहयोगका लागि आग्रह गरेको छ । अबको उपचार गर्न सक्ने क्षमता परिवारसँग नभएपछि सहयोगका लागि सबैमा आग्रह गरिएको आमा राधिका गिरी रावलले जानकारी दिनुभयो । परिवारको आग्रहपछि देश तथा विदेशबाट सहयोग रकम जुटिरहेको छ ।
सहयोगको लागि
बिरामीको आमा– राधा गिरि रावल
नेपाल बैङ्क खाता नम्बर–०७७०१००६५६६६४७०००००१
मोबाइल नम्बरहरू– ९८६७५३९१९६ र ९८२९८२३२२०