रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ का जीवन ओलीले श्रीमती अप्सरा ओलीको हत्या गरेको स्वीकार गरेका छन् । आइतबार पक्राउ परेका जीवनलाई प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । जीवनले श्रीमती अप्सराको हत्या आफूले नै गरेको स्वीकार गरेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।
घरायसी विवादका कारण श्रीमतीको हत्या गरेको जीवनले बयान दिएको उहाँले बताउनुभयो । श्रीमान् श्रीमतीले एक अर्कामा शङ्का गर्ने गरेकाे र त्यसकै कारण उनीहरू बिचमा लामो समय देखि झगडा पर्दै आएको पाइएको प्रहरीले जनाएको छ । घटनाको दिन जीवन विवाहबाट फर्केको र सामान्य विवादमा झगडा सुरु भएपछि खुकुरीले घाटी रेटेर हत्या गरेको बयान दिएकाे डिएसपी खरेलले बताउनुभयो ।
घटना शुक्रवारको हो । घटनापछि ५ वर्षीय छोरालाई लिएर फरार रहेका जीवनलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । उनी भूमे गाउँपालिका वडा नम्बर ६ र ७ को बिचमा रहेको माम्फु खोला नजिकको जङ्गलमा लुकेर बसेकाे अवस्थामा पक्राउ परेका थिए । जिल्ला अदालतबाट म्याद थप गरी घटनाको अनुसन्धान भइरहेको प्रहरीले सोमबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
सम्बन्धित समाचार