कोरोना भाईरस (कोभिड १९) का संक्रमितहरु बढ्दै गएपछि आजबाट रुकुम पश्चिममा निषेधाज्ञा जारी भएकाे छ । बढ्दो कोरोना भाईरस संक्रमणको चेन ब्रेक गर्न जिल्ला प्रशासन कार्यालयले आजबाट जिल्ला भर लागु हुने गरी निषेधाज्ञा जारी गरेकाे हाे । आजबाट सुरु भएको निषेधाज्ञा बैशाख ३१ गते मध्यराति १२ बजेसम्म जारी रहने छ । अहिलेलाई १३ दिनका लागि निषेधाज्ञा जारी गरिएको र त्यसपछि अवस्था हेरेर निर्णय हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
जिल्ला भरमा निषेधाज्ञाका कारण विहानै देखि सबै क्षेत्र बन्द भएका छन् । अत्यावश्यक बाहेक अन्य सबै सेवा र काम तथा हिडडुलमा समेत रोक लगाईएका कारण जिल्लाका मुख्य बजार क्षेत्रहरुमा सामान्य आवत जावत छ भने अन्य व्यापार, व्यवशाय लगायत क्षेत्रहरु बन्द छन् । जिल्ला सदरमुकाम मुसीकोट खलंगा तथा आसपासका बजारहरुमा मानिसहरुको सामान्य हिडडुल भने देख्न सकिन्छ । प्रशासनले अतिआवश्यक काम बाहेक घर बाहिर नसिस्किन भनेको छ ।
तर पूर्णरुपमा निषेधाज्ञाको पालना भने भएको देखिन्न । मान्छेहरु बजार, तथा चोक चोकमा यत्रतत्र देखिन्छन् । त्यस्तै निषेधाज्ञा लागेसंगै सुरक्षाकर्मीहरुको तैनाथि समेत बढाईएको छ । जिल्ला सदरमुका सहित जिल्लाका मुख्य बजारहरुमा निषेधाज्ञा सफल पार्नका लागि सुरक्षाकर्मीहरुको तैनाथि बढाएको देखिन्छ । सुरक्षाकर्मीहरुले मान्छेको हिडडुललाई रोक्नुका साथै अत्यावश्यक कामका लागि निस्किएकाहरुलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न र गराउन परामर्श गरिरहेका छन् ।
त्यस्तै तोकिएका भन्दा अन्य सवारी साधनहरु चलेको पाईएमा तिनलाई होल्ड गर्ने देखि सम्झाई बुझाई गर्दै छाड्ने काम समेत प्रहरीले गरिहेको छ । ६ स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय कोरोना भाईरसको संक्रमण उच्च गतिमा बढिरहेको छ । अहिलेसम्म जिल्लामा कुल ४ सय ३ जनामा संक्रमण पुष्टि भएको छ । जसमा दोस्रो लहर सुरु भएपछि मात्र १ सय ४० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म जिल्लामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।