Kakhara सबैको खबर सम्पूर्ण खबर
बाढीले घर बगाउँदा आठबिसकोटमा ३ बालिकाको मृत्यु, एक जना बेपत्ता

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा खोलामा आएको बाढीले घर बगाउँदा तीन बालिकाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । वडा नम्बर १२ को बगरा तातापानीमा गयराती साढे ११ बजेतिर आएको बाढीले घर बगाउँदा ५ बर्सिया मनीषा सार्की, ८ बर्सिया धनिषा पुन र १० बर्सिया हितमाया पुनको मृत्यु भएको हो । ३८ वर्षीय डिल्ली बुढाथोकी बेपत्ता हुनुभएको छ ।

तातोपानी खोला र झिन्चौर खोलामा आएको बाढीले खोला छेउमा रहेका घरहरू बगाएको नगर प्रमुख रवि केसीले जनाकारी दिनुभयो । बाढीले भूकम्प प्रभावितका टहरा बगाएको उहाँले बताउनुभयो । उहाँका अनुसार बेपत्ता बुढाथोकीको खोजी भइरहेको छ ।

घटनामा परी ७ जना घाइते भएका छन् । घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ बर्सिया मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ बर्सिया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ बर्सिया धनमाया पुन र ६५ बर्सिया कल्पना कामी रहेको बताइएको छ । उनीहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको छ । अहिले घटनास्थलमा उद्धारको काम चलिरहेको छ ।

क्षतिको थप विवरण सङ्कलनको काम भइरहेको बताइएको छ । घटनास्थलमा नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयको टोली खटिएको छ । साथै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोली पनि घटना स्थलमा प्रस्थान गरेको छ ।    

प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update