रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । परीक्षण गरिएका आधामा संक्रमण देखिएको छ । जिल्ला भरमा १ सय ३ जनामा एन्टीजेन परीक्षण गरिएकामा ४९ जनामा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य सेवा कार्यायले जनाएको छ ।
वितेको २४ घण्टामा सबैभन्दा बढी सानीभेरी र त्रिवेणि गाउँपालिकामा १७/१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । उहाँका अनुसार सानीभेरीमा ३२ र त्रिवेणिमा ४४ जनामा परीक्षण गरिएको थियो ।
त्यस्तै मुसीकोट नगरपालिकामा ८ जनामा परीक्षण गरिएकामा ६ जनामा र आठबीसकोट नगरपालिकामा ४ जनामा परीक्षण हुँदा १ जना संक्रमित थपिएका हुन् । त्यस्तै जिल्ला अस्पतालमा १५ जनामा एन्टीजेन परीक्षण गर्दा ६ जना संक्रमित भेटिएको फोकल पर्शन रावलले बताउनुभयो ।
यो संगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या ४ सय ५१ पुगेको छ । जसमा २ सय ६२ जना संक्रमित पिसिआर विधिबाट गरिएको परीक्षणबाट फेला परेका हुन् भने १ सय ८९ जना संक्रमित एन्टीजेन परीक्षणबाट भेटिएका हुन् । जिल्लामा अहिले संक्रमितको संख्या उच्च गतिमा फैलिरहेको छ ।
कोरोनाको पहिलो लहरमा १० हजार ९ सय २४ जनामा पिसिआर गर्दा २ सय ६२ जनामा मात्र संक्रमण देखिएको थियो भने हाल ४ सय १४ जनामा एन्टीजेन परीक्षण गर्दा १ सय ८९ जना संक्रमित फेला परेका छन् । यो कुल परीक्षणको ४५.६५ प्रतिशत हो । यस हिशावले जिल्लामा पछिल्ला दिनहरुमा परीक्षण गरिएका मध्ये आधामा संक्रमण देखिने गरेको छ ।