Kakhara सबैको खबर सम्पूर्ण खबर

कर्णाली प्रदेश सरकारका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा ६ मन्त्री र एक राज्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । कर्णाली मन्त्री मण्डलमा अर्थमन्त्री महेन्द्र केसी सबैभन्दा गरिब देखिनुभएको छ । उहाँसँग आफ्नो बस्ने घर पनि छैन ।

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३, निवासी केसीको गाउँमा २ हजार ७ सय ५२ र ८० वर्ग मिटरको दुई ठाउँमा जमिन छ । उता कपिलवस्तुको बाँणगंगाको तीन ठाउँमा गरी ५ कट्ठा ९ धुर जमिन देखिएको छ । सम्पत्ति विवरणमा बाँफिकोट र कपिलवस्तु दुवै ठाउँको जग्गा पुर्ख्यौली हो ।

उहाँसँग सुन चाँदी पनि केही नभएको पाइएको छ । उहाँ र उहाँको परिवारको नाममा दुई वटा बैङ्कमा ६ लाख एक हजार ३३५ रुपैयाँ मौज्दात छ । उक्त रकम केसीको पारिश्रमिक र श्रीमतीको द्वन्द्व पीडितलाई सरकारले दिने सुविधाबाट जम्मा भएको उल्लेख छ । त्यस बाहेक उहाँसँग अन्य केही सम्पत्ति छैन ।

केसी २०७९ मा भएको प्रदेश सभाको निर्वाचनमा माओवादीका तर्फबाट रुकुम पश्चिम प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क बाट निर्वाचित हुनुभएको हो । उहाँ सरल र सादगी नेताका रूपमा परिचित हुनुहुन्छ । यसअघि उहाँ कुनै पनि लाभको पदमा पुग्नुभएको थिएन ।  

यस्ताे छ मन्त्री केसीकाे सम्पत्ति विवरण

प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update