कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य तथा मुसिकोट नगरपालिका ३ का वडा इन्चार्ज लोकबहादुर ददेलप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमले ददेलको घर मुसिकोट नगरपालिका वडा नम्बर ३ छेडामा आयोजना गरेको श्रद्धाञ्जली सभामा मन्त्री केसीले दिवङ्गत ददेलको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गर्नुभएको हो ।
श्रद्धाञ्जली अर्पण गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहनुभएका अर्थमन्त्री केसीले ददेलको मृत्युले सिङ्गो पार्टीलाई निकै मर्माहत बनाएको बताउँदै पार्टी तथा समाजका लागि अपूरणीय क्षति पुगेको बताउनुभयो । ददेल एक इमानदार नेता कार्यकर्ताका रूपमा लामो समय देखि गाउँ समाजको विकासका लागि होमिएको योद्धा रहेको बन्दै मन्त्री केसीले पार्टी र समाज विकासका लागि उहाँको योगदान महत्त्वपूर्ण रहेको बताउनुभयो ।
ददेलले पार्टी र समाजका लागि गरेको योगदानको ऋण उहाँले देखेका सपना पूरा गरेर तिर्ने पनि उहाँले बताउनुभयो । जीवनको अन्तिम समयसम्म पनि उहाँ समाजकै विकासका लागि चिन्तित रहेको आफूले पाएको मन्त्री केसीले बताउनुभयो । उहाँले शोकाकुल परिवारजनमा समवेदना समेत व्यक्त गर्नुभयो ।
ददेलप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य बुद्धिप्रसाद शर्मा, जिल्ला संयोजक गोविन्द रोका सचिन, प्रदेश सदस्यहरू धिरन शिर्पाली, लालबहादुर शिर्पाली, जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर बिक, नेकपा माओवादी केन्द्रका मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का सहित अन्य राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी लगायत आम सर्वसाधारणको उपस्थिति रहेको थियो ।
यसैबिच नेकपा माओवादी केन्द्र मुसिकोट नगरपालिका र ३ नम्बर वडा समितिले ददेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । आज शोक वक्तव्य जारी गर्दै ददेलको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको भन्दै दुःख व्यक्त गरिएको छ । साथै उहाँप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारजनमा समवेदन प्रकट गरिएको छ ।
५० वर्षीय दलेलको उपचारको क्रममा मङ्गलवार काठमाडौँमा निधन भएको हो । उहाँको आज मुसिकोट नगरपालिका वडा नम्बर ३ को मुग्लुखोला घाटमा अन्त्येष्टि गरिएको छ ।