नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सदस्य तथा मुसिकोट नगरपालिका ३ का इन्चार्ज लोकबहादुर ददेलको निधनको शोकमा पार्टीले साउन ८ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको छ । माओवादी केन्द्र मुसिकोट नगर कमिटीले ददेलको निधनप्रति दुःख व्यक्त गर्दै साउन ८ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने जानकारी गराएको हो । त्यस्तै पार्टी झन्डा आधा झुकाइने छ ।
नगर अध्यक्ष दलबहादुर खड्काले शोक वक्तव्य जारी गर्दै ददेको निधनले पार्टीलाई अत्यन्त ठुलो क्षति भएको बताउनुभएको छ । ‘उहाँ कम्युनिस्ट आन्दोलनमा अनवरत रूपमा लागिरहनु भएका एक इमानदार नेता हुनुहुन्थ्यो । मुसिकोट नगरपालिका र ३ नम्बर वडा पार्टीको सङ्गठनलाई पूर्णरूपमा नेतृत्वदायी भूमिका निर्वाह गरी पार्टीलाई अतुलनीय योगदान गर्ने एक अग्रज क्रान्तिकारी योद्धाको निधनले हाम्रो पार्टीलाई निकै ठुलो क्षति भएको छ,’ शोक वक्तव्यमा भनिएको छ ।
पार्टीले दिवङ्गत ददेलप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । ददेल तत्कालीन नेकपा माओवादी पार्टीमा २०५२ सालदेखि सङ्गठित भई प्रवास (भारत) मा रहँदा समेत नेपाली क्रान्तिको प्रचार प्रसारमा रही सङ्गठित हुँदै शान्ति प्रक्रिया पछि तत्कालीन खलङ्गा गाविसको प्रथम गाउँ सम्मेलनबाट गाउँ कमिटीको प्रथम अध्यक्ष हुँदै विभिन्न जन वर्गीय सङ्गठन समेतको नेतृत्व गरी कम्युनिस्ट आन्दोलनमा अनवरत रूपमा सक्रिय रहेको पार्टीले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको ।
उहाँको साउन २ गते बिहान काठमाडाैँमा उपचारको क्रममा ५० वर्षको उमेरमा निधन भएको थियो । त्यस्तै पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केन्द्रीय उपमहासचिव जनार्दन शर्मा प्रभाकरको निर्देशन अनुसार केन्द्रीय सदस्य महेन्द्र केसी पारसमणि लगायतका नेता कार्यकर्ताको उपस्थितिमा साउन ३ गते बिहीबार दिवङ्गत ददेलको घरमा श्रद्धाञ्जली सभाको आयोजना गर्नुका साथै बिहीबार नै अन्त्येष्टि गरिएको पनि विज्ञप्तिमा उल्लेख छ । साथै पार्टीले दिवङ्गत ददेलका सपना पुरा गर्न कम्युनिस्ट आन्दोलनमा सधैँ अविचलित सरिक भइरहने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरेको छ ।