Kakhara सबैको खबर सम्पूर्ण खबर
कालिका लघुवित्तद्धारा भूकम्प पीडित सदस्यलाई झण्डै १८ लाख सहयोग 
सहयोग रकमको चेक हस्तान्तरण गर्दै नगर प्रमुख केसी । फोटो :पत्रकार देवकुमार ओली ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मुसीकोट रुकुम पश्चिमले नगद रकम सहयोग गरेको छ । कालिका लघुवित्त वित्तीय संस्थामा आबद्ध भूकम्प पिडित सदस्यहरुलाई १० हजार  रुपैयाँका दरले नगद रकम सहयोग गरिएको हो । आज संस्थाले एक कायक्रमको विच सदस्यहरुलाई नगद रकम सहयोग गरेको हो । भूकम्प पीडित सदस्यहरुलाई मुसिकोट नगर प्रमुख महेन्द्र केसीले चेक हस्तान्तरण गर्नुभएको हो ।

 आठबिसकोट नगरपालिका, मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकाका गरेर १ सय ७९ जना संंस्थामा आबद्ध सदस्यहरुलाई १० हजार रुपैयाँका दरले १७ लाख ९० हजार रुपैयाँ सहयोग गरिएको कालिका लघुवित्त वित्तिय संस्थाका नायव प्रमुख कार्यकारी अधिकृत फनिन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्प प्रभावित क्षेत्रका सदस्यहरुलाई  आर्थिक रुपमा केहि सहज होस भन्ने उदेश्यले नगद राहत सहयोग गरिएको हो । कालिका लघुवित्तले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत संस्थामा आबद्ध सदस्यहरुलाई सहयोग गरेको नायव प्रमुख कार्यकारी अधिकृत पाण्डेले जानकारी दिनुभयो । 

संस्थाले सहयोग प्रदान गरेर संस्थामा आबद्ध सदस्यहरुको मनोबल उच्च बनाएको समेत जनाएको छ । सहयोग प्रदान गरेको प्रति संस्थामा आबद्ध भूकम्प पीडित सदस्यहरुले संस्थालाई धन्यवाद समेत ब्यक्त गरेका  थिए । संस्थाले यस्ताखालका सामाजिक उत्तरदायित्व कार्यक्रमहरु आगामि दिनमा पनि सञ्चालन गर्ने प्रतिवता समेत जनाएको छ  ।

संस्थाका अध्यक्ष चन्द्रबहादुर क्षेत्रीको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख आथिथ्यता रहेको थियो । त्यस्तै संस्थाका कार्यकारी अधिकृत कुलचन्द्र पराजुली, शाखा प्रमुख सिर्जना केसी, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषि  पाठक, मुसिकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एक्कबहादुर पाण्डे, ९  नम्बर वडा अध्यक्ष शसिराम पुन र १३  नम्बर वडा अध्यक्ष खलबहादुर खड्का  लगायतको आथिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन लघुवित्त संस्थाका विभागिय प्रमुख खेमनारायण रेग्मीले गर्नुभएको थियो । 

प्रकाशित मिति: शनिबार, साउन ५, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update