रुकुम पश्चिमका ४ स्थानीय तहले गत आर्थिक वर्ष २०८०/०८१ मा अनुमान गरे भन्दा बढी राजस्व सङ्कलन गरेका छन् । जिल्लाका ६ स्थानीय तह मध्ये ४ वटा स्थानीय तह लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएका हुन् । दुई स्थानीय तह भने लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल भएका छन् । गत आर्थिक वर्षमा जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले राजस्व सङ्कलनमा लक्ष्य भेटाउन सकेनन् ।
मुसिकोटले ३ करोड ३० लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा लक्षको ७५ दशमलव ५७ प्रतिशत अर्थात् २ करोड ४६ लाख ८ हजार ६ सय ९५ रुपैयाँ ९५ पैसा सङ्कलन गरेको छ । त्यस्तै सानीभेरीले १ करोड ६१ लाख ८३ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । लक्षको ८८.५ प्रतिशत अर्थात् १ करोड ४३ लाख २४ हजार ६ सय १७ रुपैयाँ ५८ पैसा राजस्व सङ्कलन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभयो ।
लक्ष्य भन्दा बढी राजस्व सङ्कलन गर्ने चार स्थानीय तह मा चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिका रहेका छन् । जिल्लामा सबैभन्दा बढी राजस्व चौरजहारी नगरपालिकाले उठाउँदा कम बाँफिकोट गाउँपालिकाको छ । तर बाँफिकोटले लक्षको झन्डै दोब्बर राजस्व सङ्कलन गरेको छ । बाँफिकोटले ७१ लाख ७७ हजार २ सय ९९ राजस्व सङ्कलन गरेको छ । उसले ४५ लाख राजस्व सङ्कलनको लक्ष लिएको थियो । बाँफिकोटकाे लक्ष भन्दा २६ लाख ७७ हजार २ सय ९९ हजार अर्थात् ५९.४९ प्रतिशत बढी हो ।
हरेक वर्ष लक्ष अनुसार राजस्वको लक्ष पुरा गरिरहेको आठबिसकाेट नगरपालिकाले गत वर्ष पनि लक्ष पुरा गरेको छ । गत वर्ष नगरपालिकाले २ करोड ८० लाख राजस्व सङ्कलन गर्ने लक्ष लिएकाे थियो । उसले वर्षभरिमा २ करोड ८१ लाख ३२ हजार ९ सय ५५ रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष भन्दा १ लाख ३२ हजार ९ सय ५५ रुपैयाँ अर्थात् ०.४७ प्रतिशत बढी हो । आठबिसकाेटले स्थानीय तह बनेदेखि नै लक्ष अनुसार राजस्वको उठाइरहेकाे छ ।
त्यस्तै २ करोड ६६ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको चौरजहारी नगरपालिकाले लक्ष्यको १६.१६ प्रतिशत अर्थात् ४३ लाख बढी राजस्व उठाएको छ । चौरजहारीले जिल्लामै सबैभन्दा बढी ३ करोड ९ लाख राजस्व सङ्कलन गरेको छ । नगर बस, एम्बुलेन्स, एक्स्काभेटरबाट बढी राजस्व सङ्कलन भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो । चौरजहारी नगर बस सञ्चालन गर्ने रुकुम पश्चिमको एक्लो पालिका हो । त्यस्तै भूकम्प पीडितको लागि दोस्रो किस्ता पाउन मालपोत कर अनिवार्य, राजस्व सङ्कलन हुने क्षेत्रमा नियमित अनुगमन गरिएकोले पनि सजिलै लक्ष पुरा भएको उहाँले बताउनुभयो ।
अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसकेको त्रिवेणी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा भने लक्ष्य पुरा गरेको छ । १ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको त्रिवेणीले लक्ष भन्दा १ दशमलव ५६ प्रतिशत अर्थात् १ करोड १ लाख ५६ हजार २ सय ४८ रुपैयाँ २५ पैसा सङ्कलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा पनि १ करोडकै लक्ष लिएको त्रिवेणीले ९४ दशमलव १५ प्रतिशत अर्थात् ९४ लाख १ हजार ५ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । नियमित अनुगमन तथा राजस्व सङ्कलनमा कडाइ गरिएकाले लक्ष्य पुरा गरेको गाउँपालिकाले जनाएको छ ।
स्थानीय तहहरूले मालपोत तथा भूमि कर, घर बहाल कर, सम्पत्ति कर, स्थानीय उत्पादन गिट्टी बालुवा, बेरुजु असुल, सिफारिस लगायतबाट राजस्व सङ्कलन गर्न पाउँछन् ।