कर्णाली प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले राजीनामा दिएका छन् । केन्द्रीय सत्ता गठबन्धनमा फेरबदल आएपछि प्रदेशमा पनि त्यसकाे असर परेकाे हाे । माओवादीकाे तर्फबाट सरकारमा सहभागी चार मन्त्रीहरुले आज पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेका हुन् । उनीहरले आजै मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र समेत बुझाएका छन् ।
राजीनामा दिनुअघि अर्थ मन्त्रालयको सभा हलमा पत्रकार सम्मेलन गरिएकाे थियाे । माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योगा पर्यटन वन तथा वातावरणमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार हुनुहुन्थ्याे ।
केन्द्रमा काँग्रेस र एमालेबिच गठबन्धन बनेसँगै कर्णालीमा माओवादीका मन्त्रीले राजीनामा दिएका हुन् । यी चार जना मन्त्री गत वैशाख १८ मा मन्त्रीमा नियुक्त भएका थिए ।
मन्त्रीहरूले राजीनामा दिए पनि माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । राजीनामा दिनुअघि आयोजित पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री केसीले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषय संसदीय दलले निर्णय गर्ने बताउनुभएकाे थियाे ।