Kakhara सबैको खबर सम्पूर्ण खबर

केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदल सँगै कर्णाली प्रदेश सरकारमा रहेका माओवादी मन्त्रीहरूले राजीनामा दिएका छन् । आज मुख्यमन्त्री यामलाल कँडेललाई माओवादीका तर्फबाट सरकारमा सहभागी भएका चार जना मन्त्रीले राजीनामा दिएका हुन् । त्यस अघि उहाँहरूले आन्तरिक मामिला तथा योजना मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्नुभएको थियो । राजीनामा बारे जानकारी गराउन र सरकारमा रहँदा गरेका कामको बारेमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको थियो । उहाँहरू वैशाख १८ गते सरकारमा सहभागी हुनुभएको थियो ।

पत्रकार सम्मेलनमा वैशाख १८ गतेदेखि आजको दिनसम्मको प्रगति विवरण सार्वजनिक गरिएको थियो । सरकारमा रहँदाको ८४ दिनको प्रगति सार्वजनिक गरिएको हो । यस अगाडिका प्रदेश सरकारहरूले अघि सारेका कैयौँ रचनात्मक र जनमुखी कार्यक्रमलाई अरू विकसित गर्दै कर्णालीको समृद्धि हासिल गराउने प्रतिबद्धताका साथ कर्णाली आफूहरू प्रदेश सरकारमा सहभागी भएको उहाँहरूले बताउनुभएको छ ।

विगतका आर्थिक वर्षहरूमा असारमा नयाँ शीर्षक तथा कार्यक्रमहरूमा रकमान्तर हुने र त्यस प्रति व्यापक जनगुनासो सहित असल वित्तीय अनुशासन कायम नभएको प्रचलनलाई पुरै अन्त्य गर्न आफूहरू सफल भएको उहाँहरूले सार्वजनिक गरेको प्रगति विवरणमा उल्लेख छ । ‘असारमा मात्र होइन हामी सरकारमा सहभागी भई हामीले नेतृत्व गरेका आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय लगायतका सबै मन्त्रालयमा दायित्व सिर्जना भएका बाहेक अन्य शीर्षकमा रकमान्तर/स्रोतान्तर गरिएको छैन । यसले  वित्तीय अनुशासनको राम्रो सुरुवात गरेको सगौरव प्रस्तुत गर्न सकिन्छ’ प्रगति विवरणमा भनिएको छ ।

Mantri-1721634123.png
“सुशासन र सामाजिक न्याय सहितको समृद्ध  कर्णाली: सामाजिक, आर्थिक र भौतिक विकास सहितको समाजवाद उन्मुख प्रणाली” भन्ने मूल ध्येयका साथ आर्थिक समृद्धि, सामाजिक न्याय, गरिबी निवारण, रोजगारी सृजना र उद्यमशीलता विकास गरी “समृद्ध  कर्णाली: सुखारी कर्णाली बासी” को दीर्घकालीन सोच कार्यान्वयन गर्ने गरी यो वर्षको बजेट प्रस्तुत गरिएको पनि उल्लेख गरिएको छ । प्रदेश सरकारले आफ्नो विनियोजित बजेट तथा कार्यक्रममा ६० प्रतिशत देखि ६७ प्रतिशतसम्म मात्र खर्च गर्न सकेको विगतका आर्थिक वर्षहरूको यथार्थतालाई मध्यनजर गरी यो वर्षमा बजेट खर्चको प्रतिशत बढ्ने वातावरण निर्माण गरिएको उहाँहरूको दाबी छ ।

माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरणमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार हुनुहुन्थ्यो ।

कर्णालीमा माओवादीका मन्त्रीहरूको ८४ दिनको प्रगतिः

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update