जिल्ला अस्पताल रुकुम पश्चिममा २९ वटा अक्सिजन सिलिण्डर आईपुगेका छन् । प्रतिनिधि सभा सदस्य दनार्दन शर्मा ‘प्रभाकर’काे पहलमा आज ५० लिटरका २९ वटा अक्सिजन सिलिण्डर आईपुगेका हुन् । खाली सिलिण्डरको व्यवस्था नेता शर्माले गरिदिएको र त्यसमा अक्सिजन भरेर नेपालगञ्ज देखि जिल्ला अस्पतालसम्म आफुहरुले ल्याएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग नियन्त्रण फोकल पर्शन इश्वर रावलले जानकारी दिनुभयो । उक्त अक्सिजन जिल्ला अस्पतालमा रहेको आईसोलेसन वार्डमा राखिएको उहाँले बताउनुभयो ।
अव आईसोलेसनमा अक्सिजन चढाउनुपर्ने खालका कोरोना भाईरस (कोभिड–१९) का बिरामि भएमा सहज हुने रावलको भनाई छ । यसअघि आईसोलेसनमा अक्सिजनको राम्रो व्यवस्था थिएन् । अस्पतालको आईसोलेसनमा ८ बेड रहेका छन् । अव सबै बेडमा बिरामि रहेको अवस्थामा एकैपटक सबैलाई अक्सिजन चढाउन सकिने स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । यसअघि जिल्ला अस्पतालमा १० वटा मात्र अक्सिजन सिलिण्डर थिए । अव भने अक्सिजन सिलिण्डरको संख्या ३९ पुगेको कोरोना रोग नियन्त्रण फोकल पर्शन रावलले बताउनुभयो । अहिले आईसोलेसनमा ७ जना बिरामि रहेका छन् ।
यसैविच जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम पनि भइरहेको छ । मेशिन आईसकेको र पाईपलाईनको सामान आउन बाँकी रहेको छ । बाँकी रहेका सामान ल्याउने काम भइरहेको कर्णाली प्रदेश सरकारले प्लान्ट जडानका लागि खटाएका बायो मेडिकल इन्जिनियर सौरभ सिजापतीले बताउनुभयो । सामान आउन र जडानको काम सकिन अवको २ साता जति लाग्ने उहाँको भनाई छ । अक्सिजन प्लान्ट संचालनमा आए अक्सिजनको अभावमा कोरोना भाईरसका बिरामिहरुलाई बाहिर पठाउनु पर्ने र अक्सिजनको अभावकै कारण बिरामिहरुले ज्यान गुमाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।