Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा  साढे ५ किलाे लागुऔषध अफिमसहित ट्रक चालक पक्राउ 
बरामद गरिएको अफिससहित अन्य सामान ।

रुकुम पश्चिममा लागुऔषध अफिस सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १४ छेपारेबाट सल्यान जिल्लाको कुमाख गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय मदनप्रकाश गिरीलाई पक्राउ गरिएको हो । छेपारेस्थित भेरी करिडोर सडक खण्डमा गस्तिमा खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्दा ५ किलो ५ सय ४५ ग्राम लागुऔषध अफिम सहित गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँका अनुसार शनिबार राति ९ बजे गोतामकोट बाट नेपालगञ्जतर्फ जाँदै गरेको गिरीले चलाएको भे १ क १७८० नम्बरको ट्रकमा लागुऔषध अफिम प्रहरीले फेला पारेको हो । सोही ट्रकको सह–चालक बस्ने सिटको मुनि पहेलो रङको चामलको बोरामा लुकाएर राखेको अवस्थामा प्रहरीले अफिम फेला पारेको हो ।

त्यस्तै प्रहरीले १ वटा डिजिटल सानो तराजु, नेपाली नगद तीन हजार, टेक्नो पोभा कम्पनीको ठूलो मोवाइल र लाभा कम्पनीको सादा मोवाइल गरी दुई वटा मोवाइल र गिरीको चलाएको ट्रक समेत बरामद गरिएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।  गिरीलाई जिल्ला अदालतबाट सोमबार १० दिनको माम्द थप गरी थप अनुसन्धान भइरहेको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update