१० औँ राष्ट्रिय खेलकुदका लागि कर्णाली प्रदेश स्तरीय छनोट खेल्न रुकुम पश्चिममा ब्याडमिन्टन खेलाडी छनोट गरिएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा सदरमुकाम मुसिकोट खलङ्गामा भएको छनोटबाट महिला तथा पुरुष खेलाडी छनोट गरिएको हो । जिल्ला खेलकुद विकास समितिका कार्यालय सचिव लिलाप्रसाद ढकालका अनुसार महिला र पुरुष तर्फ ४/४ जना खेलाडी छनोट गरिएको छ ।
महिला तर्फ प्रथम हुने डिला परियार, द्धितिय सुहाना बुढा मगर, तेस्रो हुने डम्मरी खड्का र सान्त्वना हुने साहाना बुढामगर छनोट भएका छन् । त्यस्तै पुरुष तर्फ प्रथम हुँदै ईश्वर रावल, द्धितिय हुँदै शिखर केसी, तेस्रो हुँदै हरि केसी र सान्त्वना हुँदै सिद्धार्थ केसी छनोट भएको जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष अनिल बुढा मगरले जानकारी दिनुभयो ।
आइतबार र सोमबार दुई दिन खलङ्गाको बराहटाकुरास्थित कबर्डहलमा छनोट कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । छनोटमा महिला तर्फ ८ र पुरुष तर्फ ३० जनाले सहभागिता जनाएका थिए । जिल्ला स्तरीय छनोटबाट छानिएका खेलाडीले कर्णाली प्रदेश स्तरीय छनोटमा भाग लिन पाउने छन् । १० औँ राष्ट्रिय खेलकुद आगामी मङ्सिरमा कर्णाली प्रदेशमै हुँदै छ ।