रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । कोरोना भाइरसबाट केही कर्मचारी संक्रमित भएपछि गाउँपालिकाले साेमबारदेखि नियमित सेवा बन्द गरेको हो । अर्को सूचना नभएसम्मका लागि गाउँ कार्यपालिका अन्तर्गत शाखा समेत बन्द गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो । कार्यालय तथा शाखाहरुबाट प्रवाह हुने अत्यावश्यकीय सेवा भने प्रवाह भइरहेको उहाँले जानकारी दिनुभयो ।
कार्यालयको अत्यावश्यकीय सञ्चालनका लागि कर्मचारीलाई आलोपाले खटाइएको छ । वडा, शाख र गाउँपालिकाबाट प्रवाह हुने अत्यावश्यकीय सेवा प्रवाह नरोकियोस् भनेर आलोपाले प्रणाली लागु गरिएको जनाइएको छ । आइतबार गरिएको एन्टिजेन परीक्षणका क्रममा २ जना गाउँपालिकामा कार्यरत कर्मचारी र २ जना वडामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो ।
जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । यस अघि चौरजहारी नगरपालिकाले पनि कर्मचारी, स्वास्थ्यकर्मी तथा शिक्षकलाई कोरोना संक्रमण भएको भन्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । कोरोना संक्रमण बढ्दै गएको भन्दै आइतबारट जिल्लामा निषेधाज्ञा समेत लगाइएको छ ।