Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा १५ हजार व्यक्तिले बनाए राष्ट्रिय परिचय पत्र

रुकुम पश्चिममा दुई वर्षको अवधिमा झन्डै १५ हजार व्यक्तिले राष्ट्रिय परिचय पत्र बनाएका छन् । जिल्ला प्रशासन कार्यालय मार्फत अघिल्लो आर्थिक वर्ष र गत आर्थिक वर्षमा गरेर जिल्लामा १४ हजार ७ सय ४ व्यक्तिले राष्ट्रिय परिचय बनाएका हुन् । अघिल्लो आर्थिक वर्षमा ४ हजार १३ महिला र ३ हजार ३ सय ८७ पुरुष गरेर ८ हजार ४ सय व्यक्तिले राष्ट्रिय परिचय बनाएका थिए ।

गत आर्थिक वर्ष २०८०/०८१ मा अघिल्लो आर्थिक वर्षभन्दा कम व्यक्तिले राष्ट्रिय परिचय पत्र बनाएको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्षमा महिला ४ हजार ३४ र पुरुष २ हजार २ सय ७० गरेर जम्मा ६ हजार ३ सय ४ व्यक्तिले राष्ट्रिय परिचय बनाएका छन् ।

राष्ट्रिय परिचय बनाउन सुरु गरिएदेखि हालसम्म जिल्ला प्रशासन कार्यालयमा १६ हजार १ सय  ४८ व्यक्तिको राष्ट्रिय परिचय प्राप्त भएको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

प्राप्त भएका मध्ये १ हजार ९ सय ११ जनालाई कार्ड वितरण गरिएको र अरू वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१  १७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update