रुकुम पूर्वका मौरी पालक कृषकलाई अरिङ्गालले सताउन थालेको छ । करिब एक महिना देखि अरिङ्गालले कृषकलाई सताउन थालेको हो । मौरीलाई अरिङ्गालले खान थालेपछि कृषकहरू चिन्तित भएका छन् । जिल्लाका विभिन्न ठाउँमा मौरी पालन हुँदै आएको छ । अरिङ्गालले सताउन थालेपछि मौरीको हेरचाह गर्न कठिन भइरहेको सिस्ने ३ पोखराका ओमप्रकाश खड्काले बताउनुभयो ।
करिब १९ वर्ष देखि मौरी पालन गर्दै आउनु भएका खड्काको बारीमा अहिले एक सय ५० भन्दा बढी मौरी सहितका गोला रहेका छन् । 'परिवार नै मौरीको धरालो बसेका छौँ, कुन बेला आएर अरिङ्गालले मौरी लिन्छ थाहा हुँदैन उहाँले भन्नुभयो-दिन भरी मौरीको हेरचाह गर्दा पनि अरिङ्गालले तीन वटा गोला खाली बनाइदियो, हामीलाई मौरी जोगाउन मुस्किल परेको छ ।'
यो समयमा अरिङ्गालबाट मौरीलाई बचाउन सकियो भने अन्य समयमा मौरी पालनको लागि त्यति समस्या नहुने खड्काले बताउनुभयो । 'रातो अरिङ्गालले मौरीलाई सताउने गरेको छ, असार देखि असोज सम्म अरिङ्गालबाट मौरी जोगाउन धौ धौ पर्छ, सिस्ने ३ का अर्का मौरी पालक कृषक कमलाल खड्काले भन्नुभयो-खाना खाने समेत फुर्सद हुन्न एक छिन यताउता गयो कि मौरी सखाप पारिहाल्छ, वरपर जाने त कुरै भएन नि ।'
अरिङ्गाल नियन्त्रणको लागि वैकल्पिक साधन नहुँदा ९० वटा मौरी गोलालाई अरिङ्गालबाट बचाउन समस्या भइरहेको कमलालले बताउनुभयो ।
यस्तै अरिङ्गालले रुकुम पश्चिमका मौरी पालक कृषकलाई पनि सताइरहेको छ । जिल्लाका विभिन्न ठाउँमा मौरी पालन गर्दै आएका किसानलाई अरिङ्गालले दुःख दिने गरेको छ । यस क्षेत्रमा पनि अरिङ्गालले मौरीलाई आहाराको रूपमा लिन थालेपछि किसान निराश भएका छन् । करिब एक महिना देखि अरिङ्गालले सताउन थालेको बाँफिकोट गाउँपालिका २ का प्रजित गौतमले बताउनुभयो । रातो अरिङ्गालले मौरी खाने गरेको उहाँको भनाई छ ।
अरिङ्गालले मौरीलाई सताउन थाले पछि आफूहरू दिनभर मौरी हेरालो बस्ने गरेको गौतमले बताउनुभयो । अरिङ्गाल नियन्त्रणको लागि कुनै उपाय नहुँदा कृषकहरूलाई समस्या भइरहेको छ । यी क्षेत्रलाई मह उत्पादनकाे पकेट क्षेत्र मानिन्छ ।