बुधबार साँझदेखि अबरुद्ध भएको मध्यपहाडी राजमार्ग रुकुम खण्ड वैकल्पिक सडक निर्माण गरेर सुचारु गरिएको छ । सिस्ने गाउँपालिकाले शुक्रबार वैकल्पिक सडक खण्ड निर्माण गरेर मध्यपहाडी रुकुम खण्ड सुचारु गरेको हो । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ रानिकोटमा पहाड सहितको पहिरो खस्दा तत्तकाल मध्यपहाडी राजमार्ग सञ्चालन गर्न समस्या देखिएकाले वडा नम्बर ७ को नाथिगाड खोलामा ह्युम पाइप लाखेर वैकल्पिक सडक सञ्चालनमा ल्याएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै सडक सञ्चालनमा ल्याएको हो । अव वैकल्पिक सडक प्रयोग गरेर नाथिगाड, धाउने हुँदै रुकुम पुर्वको रुकुमकोट तथा सिस्नेरी, राउखेत हुँदै रुकुम पश्चिम पुग्न सकिनेछ । साथै जिल्ला बाहिरिने तथा भित्रिने सवारी साधन र यात्रुलाई समेत सहज भएको छ । साना गाडीहरुको लागि वैकल्पिक सडक आवतजावतका लागि सहज भएपनि ठुला सवारी साधनलाई भने सडक प्राप्त नभएको गाउँपालिका अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
राजमार्गको रुकुम खण्डको रानीकोटमा बुधबार साँझ पहिरो खस्दा सडकको बेसनै भासिएको छ । सडकको बेस भासिएकाले मध्यपहाडी राजमार्ग रुकुम खण्ड सञ्चालन गर्न केहि दिन लाग्ने बताएको छ । मध्यपहाडी सडक आयोजनासँग समन्यव भइरहको र जतिस्कयो छिटो सडक मर्मतको काम गर्न भनिएको रुकुम पुर्वका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
सडक खुलाउको लागि एक वटा स्काभेटर र मजुदर खटिएको तर वर्षाका कारण पहिरो खस्दा काम गर्न समस्या भइरहेको उहाँले जानकारी दिनुभयो । सडकको वेसनै भत्किएकाले मध्यपहाडी राजमार्ग सडक आयोजनालाई प्राविधिक सहितको समुह आएर अध्यन गर्न समेत भनिएको प्रजिअ शर्माले जानकारी दिनुभयो । राजमार्गमा भएका विद्युतका पोलमा समेत पहिरोले क्षती पुर्याउदा बुधबारदेखि रुकुम पुर्वमा विद्युत लाइन समेत अबरुद्ध भएको बताएको छ ।