रुकुम पश्चिमको जिल्ला सदरमुकाम समेत रहेको मुसिकोट खलङ्गामा यातायातका साधन तथा सर्वसाधारणहरूलाई सडक व्यवस्थित नहुँदा समस्या भएको छ । बजार क्षेत्रमा पर्ने राप्ती राजमार्गमा खाल्डाखुल्डी परेको र उक्त खाल्डामा पानी जमेर ताल बनेपछि आवतजावतमा यातायातका साधन तथा सर्वसाधारणलाई समस्या भएको हो ।
मुसिकोट नगरपालिका वडा नम्बर ५ सेरिगाउँदेखि वडा नम्बर १ को सल्लेसम्म वर्षा लागे सँगै सडकको अवस्था नाजुक बन्दै गएको छ । राप्ती राजमार्गको उक्त सडक खण्डमा खाल्डाखुल्डी तथा पानी जमेर पोखरी हुँदा पनि सम्बन्धित निकाय चुपचाप छन् । बजार क्षेत्रको सडक महिनौँ देखि जोखिमपूर्ण बन्दा सर्वसाधारण आजित भइसकेका छन् ।
बजार क्षेत्रको सडक खण्ड व्यवस्थित नहुँदा आवतजावतमा समस्या हुनुका साथै सडक अप्ठ्यारो हुँदा दुर्घटनाको जोखिम समेत बढेको मुसिकोट १ का स्थानीय सन्तोष खत्रीले बताउनुभयो । सडक व्यवस्थित नहुँदा हरेक वर्षायाममा यस्तै समस्या भोग्दै आएको उहाँले बताउनुभयो ।
बजार क्षेत्रको सडक व्यवस्थित नहुँदा विद्यार्थीलाई समेत समस्या हुने गरेको छ । सडकमा हिँडिराखेको समयमा सडकमा जम्मा भएको फोहोर पानी यातायातका साधन वारपार गर्दा शरीरमा लाग्दा पोसाक नै फोहोर हुने गरेको यमुना नन्द नमुना माध्यमिक विद्यालय सेरिगाउँमा अध्ययनरत छात्रा गङ्गा पुनले बताउनुभयो ।
बजार क्षेत्रको सडक खण्डमा खाल्डाखुल्डी भएको महिनौँ हुँदा पनि सम्बन्धित निकायले मर्मत सम्भारमा चासो नदेखाएको मुसिकोट १ मठका स्थानीय सन्दीप पुनले गुनासो गर्नुभयो । "सडकमा खाल्डाखुल्डी परेको महिनौँ भइसक्यो कसैलाई चासो छैन, यो बजार क्षेत्रकै मुख्य तथा राप्ती राजमार्ग नै भएकाले पनि छिटो मर्मत हुनुपर्ने हो यसमा कसैले चासो दिएको देखिँदैन, पुनले भन्नुभयो-स्थानीय सरकार मुसिकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय समेत यही भएकाले छिट्टै मर्मत हुनुपर्थ्यो ।"
राप्ती राजमार्ग अन्तर्गत पर्ने सेरिगाउँ देखि सल्लेसम्मको सडकको अवस्था नाजुक रहेको छ । यातायातका साधनलाई आवतजावतमा समस्या भएपछि केही खाल्डाखुल्डीमा स्थानीय तथा यातायात व्यवसायीले ढुङ्गा भरेका छन् । कतै पानी जमेका खाल्डाखुल्डी छन् । सडक मर्मत नहुँदा जिल्ला सदरमुकाम खलङ्गामै दुर्घटनाको जोखिम बढेको छ ।
सडकमा खाल्डाखुल्डी तथा साँघुरो बाटोका कारण आवतजावतमा समस्या हुने गरेको गाडी चालक रमेश बुढाले बताउनुभयो । ‘‘सडकमा खाल्डाखुल्डीकै कारण हामीलाई समस्या हुने गरेको छ सम्बन्धित निकायले समयमै सडक मर्मत गरेमा आवतजावतमा सहज हुने थियो’’ गाडी चालक बुढाले भन्नुभयो । मुसिकोट नगरपालिकाले केही दिन अगाडि सोही सडक खण्डको त्रिवेणी चोकमा गिट्टी हालेर सडक सहज बनाए पनि सेरिगाउँ, बागबजार, सहिद गेट, मठ र सल्लेसम्मको सडकको धेरै ठाउँमा जोखिम छ ।
राजमार्ग भएकाले नगरबाट काम गर्न समस्या भएको मुसिकोट नगर उपप्रमुख विमलकुमार पुनले बताउनुभयो । ‘‘क्षेत्र मुसिकोट नगरपालिकाको भए पनि राप्ती राजमार्ग आयोजनाले यसमा कुनै काम नगर्न भनेपछि हामीले काम गर्न सकेका छैनौ, हामीले राप्ती राजमार्ग हेर्ने जिम्मा पाएको सडक डिभिजन चौरजहारीलाई नै ताकेता गरेका छौ’’ उपप्रमुख पुनले भन्नुभयो ।
जिल्ला प्रशासन कार्यालयले पनि उक्त सडक खण्ड मर्मत गर्नुपर्ने देखिएको र सडक डिभिजन चौरजहारीलाई छिटै मर्मत गर्न निर्देशन दिएको जनाएको छ । "बजार क्षेत्रका खाल्डाखुल्डीले जोखिम बढेको र यसमा ध्यानाकर्षण भएको छ, सडक मर्मत सम्भारको लागि तुरुन्त काम सुरु गर्न भनेका छौँ’’ प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भन्नुभयो ।
सडक डिभिजन कार्यालय चौरजहारीले पनि यस विषयमा जानकार रहेको र प्रक्रिया अगाडि बढेको जनाएको छ । राप्ती राजमार्ग मर्मत सम्भारको जिम्मा सडक डिभिजनको रहेको र मर्मतको लागि आवश्यक प्रक्रिया मिलाउँदा केही समय लागेको सडक डिभिजन चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सडक मर्मत सम्भारको जिम्मा लिएका ठेकेदारले काम नगर्दा समस्या भएको र उक्त ठेकेदारलाई कारबाही गरी पुनः अर्को ठेक्का प्रक्रिया अगाडी बढेकाले समय लागेको बताउनुभयो । अव भने मर्मत सम्भारको फाइल अगाडि बढेकाले छिटै राप्ती राजमार्ग अन्तर्गत पर्ने रुकुम खण्ड मर्मत हुने सडक डिभिजन प्रमुख शर्माले जानकारी दिनुभयो ।