Kakhara सबैको खबर सम्पूर्ण खबर
सार्किबारा बस्ती नै पहिरोको उच्च जोखिममा
पहिरोले उच्च जोखिममा रहेको सार्किबारा वस्ती । तस्विर : वडा अध्यक्ष कुसारी

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका  वडा नम्बर १२ को सार्किबारा बस्ती पहिरोको उच्च जोखिममा परेको छ । अविरल वर्षाका कारण गए राति घर मुनीबाट पहिरो जाँदा बस्ती नै पहिरोको उच्च जोखिममा परेको हो । सार्किबारा बस्तीमा १० घर रहेका छन् । ती मध्ये ४ वटा घरको मुनीबाट आँगनसम्म पहिरो जाँदा कति बेला पहिरोले घर बग्छ भन्न सक्ने अवस्था नरहेको वडा अध्यक्ष खम्बे कुसारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अन्य ६  वटा घरहरू केही माथि रहेकाले सामान निकाल्न सक्ने अवस्था रहेको र ४ वटा घरबाट सामान समेत निकाल्न  सकिएको छैन । स्थानीय नन्दे सार्की, अलबहादुर सार्की, मनबहादुर सार्की र अर्जुन सार्कीको घरमा क्षति पुगेको  वडा अध्यक्ष कुसारीले जानकारी दिनुभयो । 

बस्ती नै पहिरोको जोखिममा रहेकाले सार्कीबाराका स्थानीयलाई आइतबार साँझ नै वडा कार्यालयमा सारिएकाले मानवीय क्षति भने भएको छैन । पहिरो गएको स्थान जोखिमपूर्ण रहेकाले क्षतिको विवरण सङ्कलन गर्ने अवस्था समेत नरहेको वडा अध्यक्ष कुसारीले बताउनुभयाे। वडामा बाढी र पहिरोको कारण करिब ४० प्रतिशत घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई राहत तथा  बसाई व्यवस्थापन गर्न समेत समस्या भएकाे वडाले जनाएको छ ।

गत साउन १ गते गिजागाड खोलामा बाढी आई झिनचौर स्थित बगर गाउँ बाढीले बगाउँदा ३ बालिकाको मृत्यु भएको थियो । भने एक जना अझै वेपत्ता छन् ।  बाढीले भूकम्प पीडितका  अस्थायी आवास, पानी घट्ट, धान खती समेत बगाएको छ । 

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update