मध्यपहाडी लोकमार्गको रुकुम खण्ड सुचारु भएको छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ रानीकोटमा गत बुधबार बेस नै पहिराेले बगाएकाे सडक मर्मत गरेपछि मध्यपहाडी लोकमार्ग रुकुम खण्ड सुचारु भएको हो । मध्यपहाडी रुकुम खण्ड आइबार साँझदेखि सुचारु भए पनि बेला बेला पहिरो खस्न नरोकिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज बिहान पनि उक्त स्थानमा पहिरो खसेको थियो । पहिरो हटाएपछि सडक पुनः सुचारु भएको छ । ‘‘यो सडक खण्डमा पहिरोको जोखिम छ । एकतर्फी सडक जसोतसो सुचारु भएको छ, पहाड सहित आएको पहिरोले सडकको बेस नै भत्किएपछि ठुला सवारी साधन आवतजावत गर्ने सक्ने अवस्था छैन’’ प्रमुख जिल्ला अधिकारी शर्माले भन्नुभयो ।
बेलाबेलमा रानीकोटमा पहिरो खस्ने र जोखिम पनि उत्तिकै रहेकाले यात्रा गर्दा सजग हुन र सकेसम्म सडकको अवस्था बुझेर मात्र यात्रा गर्न प्रजिअ शर्माले अनुरोध गर्नुभयो । गत बुधवार राति आएको पहिरोको कारण मध्यपहाडी लोकमार्ग हुँदै जिल्ला भित्रिने तथा बाहिरिने सवारी साधन आवतजावत हुन सकेका थिएनन् । सडक खण्ड सुचारु भएसँगै सवारी साधन तथा यात्रुहरूलाई आवतजावतमा सहज भएको छ ।