अमेरिकाको टेक्ससमा मारिएका रुकुम पश्चिमका दीपक ओलीको परिवारका लागि धमाधम सहयोग सङ्कलन भइरहेको छ । अमेरिकामै रहेका नेपालीहरूले विभिन्न माध्यमबाट सहयोग गरिरहेका छन् । गो फन्ड मि र अन्य माध्यमबाट सहयोग सङ्कलन भइरहेको छ । गो फन्ड मि मार्फत यो समाचार तयार पार्दासम्म २९ हजार अमेरिकी डलर जम्मा भएको यसका नेतृत्वकर्ता मोहन कुसारीले जानकारी दिनुभयो ।
५ डलर देखि २ हजार डलरसम्म सहयोग प्राप्त भइरहेको उहाँको भनाई छ । सहयोगका लागि सार्वजनिक अपिल गरिएको र इच्छुकहरूले धमाधम सहयोग गरिरहेको उहाँले बताउनुभयो । त्यस्तै व्यक्तिगत रुपमा पनि सहयाेग संकलन भइरहेकाे छ । अहिलेसम्म धेरै व्यक्तिले सहयाेग गरिसकेका छन् । याे क्रम जारी छ । सोमबार देखि सहयोग सङ्कलन सुरु भएकामा हालसम्म सबै गरेर नेपाली ६० लाख बढी सहयोग सङ्कलन भएको बताइएको छ ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर १० सेजेका ३० वर्षीय दीपक ओलीको आइतबार बिहान लुटेराबाट हत्या भएको थियो । अमेरिकाको टेक्ससको एक ग्यास स्टेसनमा कार्यरत ओलीलाई काममै रहेको बेला अमेरिकाको स्थानीय समय आइतबार बिहान ५ बजेतिर दुई जना लुटेराले गोली हानी हत्या गरेका थिए । ओली टेक्ससको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा कार्यरत हुनुहुन्थ्यो ।
यसैबिच दीपकको अमेरिकामै अन्त्येष्टि गर्ने तयारी गरिएको छ । अहिलेसम्म प्रहरीले शव हस्तान्तरण नगरेको र प्रहरीले शव हस्तान्तरण गरेपछि टेक्ससमै अन्त्येष्टिकाे तयारी गरिएको उहाँका आफन्त गोर्ख कुसारीले जानकारी दिनुभयो । यसबारेमा प्रहरीलाई जानकारी गराइसकिएको उहाँको भनाई छ । प्रहरीले अनुसन्धान सकिएपछि शव हस्तान्तरण गर्ने बताएको उहाँले बताउनुभयो ।
दीपक गत वर्ष मात्र करिब ८० लाख खर्चिएर अमेरिका जानुभएको थियो । उहाँको घरमा ५ बर्सिया छोरी, श्रीमती र आमा बुवा रहनुभएको छ ।