रुकुम पूर्वमा ७७ हजार तीन सय ८४ बिरुवा रोपिएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा जिल्लाका विभिन्न ठाउँमा १२ प्रजातिका ७७ हजार ३ सय ८४ विरुवा रोपिएको हो । जिल्लाका विभिन्न ठाउँ तथा सामुदायिक वनहरुमा वृक्षारोपन गरिएको डिभिजन वन कार्यालय रुकुम पूर्वका प्रमुख जितेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार भूमे गाउँपालिका वडा नम्बर ६ स्थित नाखर खोला सामुदायिक वन, सिस्ने गाउँपालिका वडा नम्बर ३ को सानीभेरी सामुदायिक वन र सिस्ने ५ मा रहेको शिव शक्ति सामुदायिक वनमा विरुवा रोपिएको छ । यस्तै भूमे ३ को भुवालो सामुदायिक वन, भूमे ९ को चुनवाङ सामुदायिक वन र सिस्ने १ को ओख्रेना तथा भूमे ८ को कोर्जामा बिरुवा रोपिएको उहाँले जानकारी दिनुभयो ।
सामुदायिक वनमा चिउरी, पातेसल्ला, अमला, देवदार, तेजपात, सिसौ, पौयू, हारे ओखर टिमुर सुतु रोपणा, कुरोल्लो लगायतका विरुवा रोपिएको डिभिजन वन कार्यालय रुकुम पुर्वका प्रमुख खड्काले जानकारी दिनुभयो । डिभिजन वन कार्यालयबाट सिस्ने, पुथा उत्तरगंगा र भूमे गाउँपालिकाकालाई विभिन्न प्रजातिका २३ हजार दुई सय ५० वटा बिरुवा अनुदानमा वितरण गरिएको थियो ।
वनलाई हरियाली तथा सामुदायिक वनको आर्थिक अवस्था बलियो बनाउन वृक्षारोपनलाई जोड दिएको डिभिजन वन कार्यालय रुकुम पूर्वले जनाएको छ ।