रुकुम पश्चिमका स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर सुशील पोखरेललाई बिदाइ गरिएको छ । विगत २५ महिना देखि स्वास्थ्य सेवा व्यवस्थापकका रूपमा कार्यरत रहनुभएका हाड जोर्नी विशेषज्ञ डा. पोखरेल कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयमा जानुहुने भएपछि उहाँलाई आज बिदाइ गरिएको हो । साथै नयाँ आउने स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर महेश चौलागाइलाई स्वागत गरिएको छ । उहाँको दरबन्दी जिल्ला अस्पतालमै हो । उहाँ बाल रोग विशेषज्ञको पढाई सकेर जिल्ला आउनुभएको हो ।
डाक्टर पोखरेलले आफ्नो कार्यकालमा जिल्ला अस्पतालमा उल्लेखनीय काम गरेको भन्दै आगामी दिनमा समेत उक्त सेवा निरन्तर हुनुपर्नेमा बिदाइ तथा स्वागत कार्यक्रममा उपस्थित सरोकारवालाहरूले सुझाव दिएका थिए । विशेष गरी जिल्ला अस्पतालमै हाड जोर्नीको अप्रेसन सेवाले धेरै जिल्लावासी लाभान्वित भएको भन्दै सरोकारवालाहरूले यो सेवा आगामी दिनमा पनि निरन्तर हुनुपर्ने सुझाव दिएका हुन । साथै नयाँ आउने डा. चौलागाइ बाल रोग विशेषज्ञ भएकोले जिल्ला अस्पतालमा बाल रोगको विशेषज्ञ सेवा समेत थप भएकोमा खुसी व्यक्त गरेका थिए ।
बिदाइ हुँदै डाक्टर पोखरेलले जिल्ला अस्पतालको सुधारका लागि आफ्नो कार्यकालमा विभिन्न प्रयास गरेको बताउनुभयो । जिल्लामा २०७९ को फागुन देखि हाड जोर्नी (अर्थोपेडिक) सेवा सुरु भएकामा हालसम्म साना ठुला गरेर ७ सय बढी अप्रेसन गरेको र ५ सय बढी मेजर अप्रेसन भएको जानकारी गराउनुभयो । जिल्लामा सबैभन्दा ठुलो अप्रेसन आधा जोर्नी प्रत्यारोपण अप्रेसन गरेको उहाँको भनाई छ ।
भौतिक रूपमा कमजोर रहे पनि सेवाका हिसाबले भने प्रदेश अस्पताल बाहेक कर्णालीका सबै जिल्ला अस्पतालको भन्दा राम्रो सेवा रुकुम पश्चिम जिल्ला अस्पतालले दिइरहेको उहाँले बताउनुभयो । आगामी दिनमा हालका सेवाको निरन्तरता सहित थप सेवाको सुरुवात गर्नुपर्ने अवस्था रहेकोले यस तर्फ ध्यान दिन र आफू जिल्लामा नभए पनि सकेको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
नयाँ आउने स्वास्थ्य सेवा व्यवस्थापक डा. चौलागाइले हाल जिल्ला अस्पतालबाट सञ्चालनमा रहेका कुनै पनि सेवा कटौती नहुने बरु थप हुँदै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफू आउने बित्तिकै बाल रोग सेवा थप भएको र आगामी दिनमा अझै सेवा थप गर्दै लैजान आफ्नो तर्फबाट सकेको पहल गर्ने उहाँको प्रतिबद्धता छ ।
यसैबिच सेवा निवृत्त हुनुभएका जिल्ला अस्पतालमा कार्यरत कार्यालय सहयाेगी कालीबहादुर खड्कालाई समेत बिदाइ गरिएकाे छ ।
अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारीको अध्यक्षतामा भएको कार्यक्रममा मुसिकोट नगर प्रमुख महेन्द्र केसीको प्रमुख तथा उपप्रमुख विमलकुमार पुन र प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित राजनीतिक दल, कार्यालय प्रमुख, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अस्पताल विकास समितिका सदस्य दीपकराज खड्काले गर्नुभएको थियो ।