रुकुम पश्चिममा ट्राफिक नियमको उलङ्घन गर्ने सवारी साधनको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमको तथ्याङ्क हेर्दा हरेक वर्ष नियमको उलङ्घन गरी सवारी साधन कारबाही हुने सङ्ख्या बढ्दै गएको हो । तीन वर्षको अवधिमा ११ हजार नौ सय ६३ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी सहायक निरीक्षक भरतबहादुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सवारी साधन कारबाहीबाट पनि वर्षे नि राजस्व सङ्कलनमा वृद्धि भएको छ । आर्थिक वर्ष २०७८/०७९ मा २ हजार ७ सय ५ सवारी साधन कारबाहीमा परेका थिए । सोही कारबाहीबाट २६ लाख २८ हजार राजस्व सङ्कलन भएको थियो । त्यस्तै २०७९/०८० मा ३ हजार ५ सय ८१ सवारी साधन कारबाहीबाट ३४ लाख २४ हजार ५ सय राजस्व उठेको थियो ।
गत आर्थिक वर्षमा भने सवारी साधन कारबाहीको सङ्ख्या बढेर ५ हजार ६ सय ७५ पुग्दा राजस्व पनि बढेर ४२ लाख ४८ हजार सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी सहायक निरीक्षक शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार तीन वर्षमा कुल १ करोड ३ लाख ५ सय राजस्व उठेको छ ।
आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी मोटरसाइकल १ हजार ५ सय ५३ र सबैभन्दा कम ट्रक २ सय ५ कारबाहीमा पर्दा बस ३ सय २९, ट्याक्टर २ सय ६९ र जिप ३ सय ९ कारबाहीमा परेका थिए । सोही वर्ष सबैभन्दा बढी मोटरसाइकलबाट १५ लाख ४४ हजार राजस्व उठेको थियो ।
त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा सबैभन्दा बढी २ हजार ९६ वटा मोटरसाइकल कारबाही हुँदा कम ३ सय ६८ बस कारबाही हुँदा ट्रक २ सय ८२, ट्याक्टर ५ सय १० जिप ४ सय ४५ कारबाहीमा परेका थिए । सोही वर्ष पनि मोटरसाइकलबाट नै बढी १६ लाख ६७ हजार राजस्व सङ्कलन भएको शाहीले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा पनि कारबाही धेरै हुनेमा मोटरसाइकलको सङ्ख्या नै बढी छ । जसमा १ हजार ८ सय १६ मोटरसाइकल कारबाहीबाट २० लाख ७१ हजार ५ सय राजस्व उठेको छ । ४ सय ३६ बस कारबाहीबाट ३ लाख १२ हजार ५ सय, ७ सय २ वटा ट्रक कारबाहीबाट ५ लाख ६ हजार, ४ सय ३३ ट्याक्टर कारबाहीबाट ४ लाख ६ हजार ५ सय, १ हजार १५ वटा जिपबाट ७ लाख ४३ हजार ५ सय र २ सय ६९ वटा अटोबाट २ लाख ७ हजार राजस्व सङ्कलन भएको छ ।
गत वर्ष नै सबैभन्दा बढी सवारी साधन ५ हजार ६ सय ७५ वटा कारबाही हुँदा राजस्व पनि ३ वर्ष यताकै उच्च ४२ लाख ४८ हजार सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख शाहीले जानकारी दिनुभयो । कारबाही पर्नेमा साथमा कागजात नभएका, ट्राफिक नियम पालना नगर्ने, सवारीको क्षमता भन्दा बढी यात्रु बोक्ने, रोड परमिट नभएका, लगायतका सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।