रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पिसिआर प्रयोगशाला आर्थिक अभावका कारण बन्द भएको छ । एक बर्ष अघि नगरपालिकाले वडा नं. २ मा आर.टि पिसिआर परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याएको थियो । रुकुम पश्चिम, जाजरकोट र सल्यानका नागरिकलाई लक्षित गर्दै चौरजहारीमा पिसिआर प्रयोगशाला संचालनमा आएको थियो ।
तर बजेट र जनशक्ति अभावले उक्त प्रयोगशाला ५ महिनादेखि बन्द रहेको छ । नगरपालिकाले पटक पटक प्रदेश र संघीय सरकारमा प्रयोगशाला पुनः सञ्चालनमा ल्याउन माग गर्दै आए पनि कुनै सुनुवाइ हुन सकेको छैन । पिसिआर प्रयोगशाला बन्द हुँदा नगरपालिकाले एन्टीजेन परीक्षणबाट कोरोना जाँच हुँदै आएको छ ।
नगरपालिकामा एन्टीजेन किट पनि अभाव भएको छ । जसका कारण कारोना परीक्षणमा समस्या भएको छ । नगरपालिकाले १ करोड २३ लाखमा प्रयोगशाला संचालनमा ल्याएको थियो । तर जिल्लाका अन्य स्थानीय तह तथा प्रदेश र संघीय सरकारले बजेट र जनशक्तिको व्यवस्था गर्न नसक्दा प्रयोगशाला बन्द भएको हो ।
नगर स्वास्थ्य सह–संयोजक डण्ड शर्माका अनुसार एन्टीजेन किट सकिएको जानकारी सहित जिल्ला स्वास्थ्य कार्यालय लगायतका निकायमा किटको माग गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा समेत किट अभाव भएको जानकारी आएको र किट पुग्न केहि दिन लाग्ने उहाँको भनाई छ । किट पुग्ने बित्तिकै फेरी परिक्षणको दायरा बढाउने उहाँले बताउनुभयो । उहाँका अनुसार अति आवश्यकको हकमा भने परीक्षण भइरहेको छ ।।