Kakhara सबैको खबर सम्पूर्ण खबर
मध्यपहाडी लोकमार्ग फेरि अवरुद्ध, चिसापानी–राडी सडक पनि बन्द 
मध्यपहाडी लाेकमार्ग ।

रुकुम पश्चिमका मुख्य दुई सडक अवरुद्ध भएका छन् । पहिरोका कारण मध्यपहाडी लोकमार्ग र चिसापानी राडी सडकखण्ड अवरुद्ध भएका हुन् । वर्षाका कारण मुसिकोट नगरपालिका वडा नम्बर ८ रिनदहमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जसका कारण रुकुम पश्चिमबाट रुकुम पूर्व लगायतका ठाउँमा जाने सवारी साधन अवरुद्ध भएका छन् । यो वर्ष मध्यपहाडी लोकमार्गको रुकुम पश्चिमको मुसिकोट र रुकुम पूर्वको रुकुमकोट खण्ड धेरै नै अवरुद्ध भइहरहेको छ । 

यसअघि मुसिकोट नगरपालिका वडा नम्बर ८ को किटेनी र रुकुम पूर्वको सिस्ने गाउँपालिका ६ रानीकोटमा पटक पटक पहिरो जाँदा मध्यपहाडी लोकमार्ग यो वर्ष धेरै समय अवरुद्ध भएको छ । यस पटक भने रिनदहमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । 

त्यस्तै वर्षाको कारण पहिरो आई आठबिसकोट नगरपालिका–११ गत्तासैन र चिसापानी स्थित राडी चिसापानी सडक खण्ड पनि अवरुद्ध भएको छ । पहिरोले सडक पुरेपछि यो खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयको भनाई छ । दुवै ठाउँको सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नवराज पाेखरेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update