रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ ले विकास निर्माणमा झन्डै २ करोड रुपैयाँ खर्च गरेको छ । गत वर्षमा वडाले विकास निर्माण तथा अन्य योजनाहरूमा १ करोड ९९ लाख ८७ हजार २ सय रुपैयाँ खर्च गरेको हो । शनिवार वडामा सार्वजनिक सुनुवाइ कार्यक्रमको आयोजना गरी वडाले वर्ष भरी सम्पन्न गरेका योजनाहरूको वडा अध्यक्ष सुन्दर ओलीले सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत जानकारी बनाउनु भएको हो । वडामा सबैभन्दा बढी बजेट त्रिवेणी चक्रपथमा १ करोड रुपैयाँ खर्च भएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सबैभन्दा कम बजेट जनता आवास निर्माणमा ३ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । त्यस्तै बाल कल्याण आधारभूत विद्यालयमा ४ कोठे भवन निर्माणमा ४० लाख, मुख्यमन्त्री कार्यक्रममा १५ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रममा ४ लाख ८७ हजार २ सय, रुघा तल गाउँ खानेपानी योजनामा ६ लाख ५० हजार रुपैयाँ खर्च भएको आलीले जानकारी बनाउनुभएको थियो ।
त्यसै गरी सिम्रुतु कालापोखरा सडक खण्ड स्तरोन्नतिमा ६ लाख ५० हजार, एडभान्स सिलाई कटाइ तालिममा ४ लाख र दिव्य चक्षु माविमा कम्प्युटर ल्याब व्यवस्थापनमा ६ लाख ५० रुपैयाँ खर्च भएको वडा अध्यक्ष ओलीले जानकारी दिनुभयो । वडाका ५ सय १९ लाभग्राहीले पहिलो किस्ता बापत २५ हजारका दरले १ करोड २९ लाख ५७ हजार रुपैयाँ प्राप्त गरेका छन् । रेडक्रस बहुउद्देश्यीय राहत कार्यक्रम अन्तर्गत ९ लाख, पशु कार्यालयबाट ५० प्रतिशत अनुदानमा राँगा खरिद कार्यक्रम अन्तर्गत १५ लाख अनुदान प्राप्त गरेको वडा अध्यक्ष ओली सार्वजनिक सुनवाइ कार्यक्रम मार्फत जानकारी बनाउनु भएको हो ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा वडावासीले अस्थायी आवास निर्माणको दोस्रो किस्ता पाउन नसकेको, ग्रामीण सडक वर्षायाममा नियमित सञ्चालन हुनुपर्ने, विकास निर्माणका काम दीर्घकालीन हुनुपर्ने लगायतका विषयमा गुनासो तथा सुझाव राखेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसी, १ नम्बर वडाका पूर्व वडा अध्यक्ष मोहनकिशाेर ओली स्थानीय, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।