रुकुम पश्चिमको मुसिकोट नगरपालिका ८ रिनदहमा मध्यपहाडी लाेकमार्ग अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेका छन् । वर्षाका कारण शनिवार विभिन्न ठाउँमा पहिरो झर्दा मध्यपहाडी लाेकमार्ग अवरुद्ध छ । जसका कारण रुकुम पश्चिमबाट रुकुम पूर्वको रुकुमकोट हुँदै काठमाडौँ तथा देशका विभिन्न ठाउँ जाने तथा काठमाडौँ तथा देशका विभिन्न ठाउँबाट रुकुमकोट हुँदै रुकुम पश्चिम आउने यात्रुहरू रिन दहमा अलपत्र परेका हुन् ।
शनिवार देखि रिनदहमा अलपत्र परेको काठमाडौँ देखि मुसिकोट आउँदै गरेका माधव विकले बताउनुभयो । बाटो बन्द भएका कारण शनिवार देखि रिनदहमै रहेको र जङ्गलमै रात बिताएको उहाँको भनाइ छ । सरोकारवाला निकायको बेवास्ताका कारण दुःख पाएको अर्का यात्रु दुर्गा बुढाले बताउनुभयो । राष्ट्रिय मार्ग तत्कालै मर्मत भएर सुचारु हुनुपर्नेमा २४ घण्टा बित्न लाग्दा पनि सम्बन्धित निकायको लापरबाहीले सयौँ यात्रुले दुःख पाएको उहाँले बताउनुभयो ।
दैनिक सयौँ सवारी साधन ओहरदाेहर गर्ने लाेकमार्ग अवरुद्ध हुँदा पनि मध्यपहाडी लाेकमार्ग आयोजना कार्यालय देखि स्थानीय तहको बेवास्ता हुनु गम्भीर लापरबाही रहेको यात्रुको गुनासो छ । मध्यपहाडी लाेकमार्ग आयोजना कार्यालय दैलेखले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । निमित्त आयोजना प्रमुख अमितकुमार मण्डलले शनिवार नै अवरुद्ध सडक सुचारु गर्न डाेजर परिचालन गरिएको तर उक्त डोजर बिग्रिएको र अर्को डोजर व्यवस्थापनको काम भइरहेको बताउनुभयो । आइतबार दिउँसोसम्म बाटो खुल्ने उहाँको भनाई छ ।