कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले पहिलो पटक गत वर्ष २०७६ को चैत्र ११ गतेदेखि लकडाउन घोषणा गर्यो । त्यसपछि सबै क्षेत्रहरु ठप्प भए । यसबाट शिक्षा क्षेत्रमा पनि असर पर्यो । सबै विद्यालय बन्द भए । माध्यामिक शिक्षा परीक्षा एसइई रोकियो । आन्तरिक मुल्यांकनका आधारमा बिद्यार्थीहरुलाई अंक दिइयो । कति विद्यालयको वार्षिक परीक्षा समेत हुन पाएन् । अन्य तहका परीक्षाहरुपनि प्रभावित भएका छन् ।
कोरोना महामारीका कारण बन्द भएका जिल्लाका अधिकांश विद्यालयहरु खुलेका छन् । कोरोनाको जोखिम अहिले नै कम हुने नदेखिएको र शैक्षिक सत्र घर्किदै गएपछि जिल्लाका स्थानीय तहहरुले विद्यालयहरु खोलेका हुन् । ६ मध्य ५ स्थानीय तहमा विद्यालयहरु खुलिसकेका छन् । विद्यालय खुलेपछि हजाराैं विद्यार्थीहरू विद्यालय पुगेका छन् । त्रिवेणि गाउँपालिकाले तिहारपछि विद्यालय खोल्ने जनाएको छ ।
चौरजहारीमा शनिबार पनि बिद्यालय खुल्ला
सबैभन्दा पहिला चौरजहारी नगरपालिकाले गत असोज ४ मा विद्यालय खोल्यो । उसले सिकाई सहजीकरण कार्ययोजना निर्माण गरेर पठान पाठन संचालन गरिरहेको छ । कार्ययोजनामा विद्यालय तह अनुसार पठन पाठनको व्यवस्था मिलाईएको छ । सबै विद्यार्थी एकैपटक विद्यालयमा उपस्थित हुँदा ठुलो भिडभाड हुने र जसका कारण कोरोनाको जोखिम उच्च रहनेभएकाले पालोपालो बिद्यार्थीलाई विद्यालयमा बोलाएर पढाउने व्यवस्था मिलाएको नगरप्रमुख तथा नगर शिक्षा समितिका संयोजक बिशाल शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालय तह र कक्षा अनुसार विद्यार्थीहरुलाई हप्ताका सातै दिन फरक फरक बारमा बोलाएर पढाउने काम भैरहेको छ । नगरपालिकाले सबै बिदाहरु कटौति गरेको छ । जसअनुसार विद्यालयहरु दसैं, तिहारका सन्दर्भमा राजपत्रमा प्रकाशित बिदा अनुसार हुने र अन्य सबै बिदा कटौति भइसकेकाले शिक्षकहरुले कुनैपनि बिदा लिन नपाईने कार्ययोजनामा उल्लेख छ । चौरजहारीमा शनिबारपनि विद्यालयहरु खुलिरहेका छन् । नगरका सबै ३७ वटा विद्यालयमा शिक्षण सिकाई सहजिकरण केन्द्र मार्फत पढाई भइरहेको छ ।
सानीभेरी गाउँपालिकाले पनि चौरजहारी जसरी नै विद्यालयहरु संचालनमा ल्याएको छ । विद्यालयमा ठुलो भिडभाड नहुने गरी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठन पाठन सुरु गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत भुपालसिंह बिष्टले बताउनुभयो । कोरोनाको जोखिम कम नभएपछि जोखिमकै विचमा स्वास्थ्य सुरक्षा मापदण्डलाई ख्याल गरेर विद्यालय संचालन गर्नुपरेको उहाँको भनाई छ ।
गाउँपालिकाका ११ वटै वडामा रहेका ४९ वटा विद्यालयमा असोज ११ गते देखि पढाई भइरहेको छ । कम विद्यार्थी भएका कक्षाका सबै विद्यार्थीलाई विद्यालय बोलाइएकामा ठुलो कक्षा र बढी बिद्यार्थी भएका कक्षाका लागि सिफ्ट बनाएर पठनपाठन भईरहेको निमित्त प्रमुख प्रशासकिय अधिकृत बिष्टले बताउनुभयो । सिफ्ट अनुसार बिहानको समयमा पनि बिद्यालयहरु संचालन भइरहेका छन् ।
मुसीकोट नगरपालिकामा पनि असोज १५ गतेबाट विद्यालयहरु खोलिएका छन् । ५५ वटा सामुदायिक र १० वटा संस्थागत गरी ६५ वटा विद्यालयमा सिकाई केन्द्र मार्फत पठनपाठन भइरहेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै विद्यार्थीहरुलाई समुहमा विभाजन गरेर दिनमा २, ३ घण्टाका दरले एउटा सिफ्टमा पढाई भइरहेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरविर खड्काले जानकारी दिनुभयो ।
स्वास्थ्यका हिशावले संवेदनशिल रहेकाले सबै विद्यार्थीलाई एकै पटक विद्यालयमा नबोलाइएको उहाँको भनाई छ । विद्यालय संचालनको सबै जिम्मा विद्यालयहरुलाई दिईएको छ । केहि विद्यालयहरुले भने साविककै जस्तो सबै विद्यार्थीहरुलाई बोलाएर बिहान १० देखि आपरान्ह् ४ बजेसम्म पठनपाठन गरिरहेका छन् । कसरी सुरक्षित हुन्छ त्यसरी विद्यालय संचालनको जिम्मा नगरपालिकाले विद्यालयलाई दिएको छ ।
बाँफिकोट र आठबीसकोटमा १०–४ बजेसम्म पठनपाठन
झण्डै ७ महिनापछि गत असोज १६ गते देखि विद्यालय खुलेका बाँफिकोट गाउँपालिकामा साविककै जसरी पठन पाठन भइरहेको छ । आईतबार देखि शुक्रबारसम्म सबै विद्यार्थीहरुलाई बोलाएर पढाउने काम भइरहेको गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानवहादुर खड्काले बताउनुभयो । शुक्रबारपनि बिहान १० बजेदेखि अपरान्ह् ४ बजेसम्म पठन पाठन भइरहेको उहाँको भनाई छ । गाउँपालिकामा शनिबार भने विद्यालय बन्द हुन्छन् । गाउँपालिकामा जम्मा ४४ वटा विद्यालयहरु रहेका छन् ।
आठबीसकोट नगरपालिकाले पनि कार्तिक १६ गते आईतबारदेखि बिद्यालय खोलेको छ । ८ महिनापछि नगरपालिकाका ५९ वटा विद्यालय साविककै समयअनुसार चल्ने गरी खुलेका हुन् । ‘शैक्षिक सत्र सकिन लाग्दा समेत पठनपाठन सुरु नहुँदा दबाव सृजना भएको र अव नियमित रुपमा पठन पाठन संचालन हुन्छ, नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक नरेन्द्र कार्कीले भन्नुभयो ।’ अव बिदाहरु कटौति गरेर नियमित पठनपाठन हुने उहाँको भनाई छ । आवश्यक परेको खण्डमा बाहेक अन्य समयमा बिद्यालय बन्द नहुने उहाँले बताउनुभयो ।
त्रिवेणिमा तिहारपछि खुल्ने
विद्यालय खोल्न बाँकी एकमात्र स्थानीय तह त्रिवेणि गाउँपालिका हो । गाउँपालिकाले तिहारपछि विद्यालय खोल्ने जनाएको छ । गाउँपालिकामा कोरोनाको जोखिम बढि रहेकाले पठनपाठन संचालन गर्न समय लागेको गाउँपालिका अध्यक्ष तथा गाउँ शिक्षा समितिका संयोजक झक्कुप्रसाद घर्तिले बताउनुभयो । विद्यालय कोरोनाको केन्द्र बन्नसक्ने तर्फ सतर्क रहेको उहाँको भनाई छ । तिहार सकिने वित्तिकै विद्यालय खोल्ने गरी तयारी भइरहेको घर्तिले जानकारी दिनुभयो ।