Kakhara सबैको खबर सम्पूर्ण खबर
४ वर्षमा रुकुम पश्चिममा सवारी दुर्घटनामा ५७ जनाको मृत्यु 

रुकुम पश्चिममा दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या वर्षेनी सवारी बढ्दो क्रममा रहेको छ । आर्थिक वर्ष २०७७/०७८ देखि गत आर्थिक वर्ष २०८०/०८१ सम्म चार वर्षको तथ्याङ्क हेर्ने हो भने जिल्लामा बर्सेनि सवारी दुर्घटना तथा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा छ । 

४ वर्षमा २ सय ५६ वटा सवारी दुर्घटनामा परी ५७ जनाको मृत्यु भएको छ । आ.व २०७७/०७८ मा ३४ वटा दुर्घटनामा १० जनाको मृत्यु भएकामा आ.व. २०७८/०७९ मा २१ वटा सवारी दुर्घटनामा १३, आ.व. २०७९/०८० मा १ सय २१ वटा सवारी दुर्घटनामा ११ जना र सबै भन्दा बढी गत आर्थिक वर्ष २०८०/०८१ मा ८० वटा दुर्घटनामा परी २३ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

कार्यालयका अनुसार ४ वर्षमा सबैभन्दा बढी जिप दुर्घटनाबाट २२ जनाको मृत्यु भएको छ । त्यस्तै ट्याक्टर दुर्घटनामा १७, मोटरसाइकलमा ८, बस र ट्रकमा ५/५ जनाको मृत्यु भएको छ । ४ वर्षमा ४ सय ९ जना घाइते भएका छन् । घाइते हुनेको सङ्ख्या पनि बर्सेनि बढ्दो क्रममा छ । 

आर्थिक वर्ष २०७७/०७८ मा ४४ जना, २०७८/०७९ मा १ सय १८, २०७९/०८० मा ९२ जना र आर्थिक वर्ष २०८०/०८१ म १ सय ५५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।   

 

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update