रुकुम पश्चिमको मुसिकोट नगरपालिकाबाट रुकुम पूर्वको रुकुमकोट जाँदै गरेको जिप दुर्घटनामा परेको छ । सामान लिएर रुकुमकोट तर्फ गइरहेको रा १ च १३१७ नम्बरको पिक अप जिप मध्यपहाडी लोकमार्गको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमाना रिन दहमा गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले जानकारी दिनुभयो ।
दुर्घटनामा परी चालक मुसिकोट नगरपालिका वडा नम्बर ८ घाेरखानीका १९ वर्षीय डम्बर खड्का घाइते भएको उहाँले बताउनुभयो । उकालो चढ्ने क्रममा पछाडि सरेर पल्टिएपछि चालक च्यापिएको डिएसपी पोखरेलको भनाई छ । उहाँका अनुसार सह चालक त्रिवेणी गाउँपालिका वडा नम्बर १० काेल्टीका १७ वर्षीय प्रकाश गौतम भने सकुशल रहनुभएको छ ।
अस्थायी प्रहरी चौकी साँखबाट प्रहरी सहायक निरीक्षक भिमबहादुर रावतकाे नेतृत्वमा ४ जनाको प्रहरी टोली खटिएको छ भने जिल्लाबाट प्रहरी निरीक्षक बखतबहादुर शाहीको नेतृत्वमा ७ जनाको प्रहरी टोली खटिएको पोखरेलले बताउनुभयो । घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको उहाँको भनाई छ । घटनास्थल मुसिकोटबाट खलङ्गाबाट १६ किलोमिटर पूर्वमा रहेको छ ।
रिन दहमा पहिरोका कारण मध्यपहाडी लोकमार्ग शनिवार देखि आइतबारसम्म अवरुद्ध भएको थियो । आइतबार अपराह्न देखि लोकमार्ग सुचारु भएको थियो । जोखिमपूर्ण लाेकमार्गका कारण दुर्घटनाको जोखिम बढेको छ ।