रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को रिन दहमा सोमबार विहान जिप दुर्घटना परी घाइते जिप चालक डम्बर खड्काको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । उद्दार पश्चात १९ वर्षिय चालक खड्कालाई जिल्ला अस्पताल सल्लेमा पुर्याएर उपचार थालिएको हो । घाइते चालकको अवस्था सामान्य रहेको र बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहाहुर शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते खड्काको जिप दुर्घटनामा परी कम्मर देखि मुनिको भाग च्यापिएको थियो । सोमबार विहान रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलंगाबाट सामान लिएर रुकुमकोट जाँदै गर्दा मध्यपहाडी सडक खण्डको रिन दहमा रा १ च १३१७ नम्बरको जिप दुर्घटनामा परेको थियो ।
उकालोमा चढ्ने क्रममा बे्रक नलाग्दा पछाडी आई जिप सडकमै पल्टिएको थियो । सहचालक त्रिवेणी १० कोल्टिका जयप्रकाश मल्ल भने सकुशल रहेको प्रहरीले जनाएको छ ।