Kakhara सबैको खबर सम्पूर्ण खबर
विजयश्वरी बोर्डिङमा निर्वाचनबाट क्याप्टेन र भाइस क्याप्टेन चयन

रुकुम पश्चिमको जेठो संस्थागत विद्यालय विजयश्वरी सेकेन्डरी इङ्लिस मिडियम बोर्डिङ स्कुलमा मतदानबाट क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको छ । मुसिकोट १ खलङ्गामा अवस्थित विद्यालयमा विद्यार्थीहरुकाबिच क्याप्टेन चयन गर्न निर्वाचन विधिको प्रयोग गरिएको हो । जसबाट क्याप्टेनमा कक्षा १० का प्रशान्त बुढा मगर र भाइस क्याप्टेनमा कक्षा ८ का गणेश खड्का विजयी हुनुभएको छ । बुढाले  २५७ मत प्राप्त गर्दा खड्काले १८० मत प्राप्त गरेको विद्यालयले जनाएको छ । 

क्याप्टेनतर्फका अन्य उम्मेदवार सन्दीप खड्काले १३७ मत प्राप्त गर्नु भयो भने अनुभव बुढा मगरले ८१ मत प्राप्त गर्नु भएको थियो। त्यसै गरी भाइस क्याप्टेन तर्फ गणेश बुढाथोकीले १६४ र अरुण केसीले १४२ मत प्राप्त गर्नुभयो । मतदानमा विद्यालयका कक्षा १ देखि १० सम्मका ५६० जना विद्यार्थीहरूमध्ये ५१२ जनाले भाग लिएका थिए । विद्यालयले संसदीय चुनावको अभ्यास सहित एक साताको निर्वाचन प्रक्रिया हुँदै मतदानबाट क्याप्टेन र भाइस क्याप्टेन चयन गरेको प्रिन्सिपल जयबहादुर थापाले जानकारी दिनुभयो ।

एक साताअघि क्याप्टेन र भाइस क्याप्टेन पदमा उम्मेदवारी खुला गरिएको थियो । निर्धारित समय सीमाभित्र क्याप्टेनमा ३ जना र भाइस क्याप्टेनमा ३ जनाले मनोनयन दर्ता गरेका थिए । मनोनयन दर्तापछि उम्मेदवारी फिर्ता गर्ने दुई दिनको समय सीमा भित्र कुनैपनि उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका थिएनन् । 

मतदान मार्फत क्याप्टेन र भाइस क्याप्टेन चुन्ने प्रक्रियामा विद्यार्थीहरूलाई नमुना मतपत्र बनाएर मतदान गर्ने तरिका बारे सिकाइएको थियो । विद्यालयका कक्षा १ देखि १० सम्मका सबै विद्यार्थीहरूलाई मतदान गर्न पाउने व्यवस्था सहित मतदाता नामावली प्रकाशन, प्रतिस्पर्धीहरूलाई चुनाव चिन्ह प्रदान गरेर आफ्नो प्रतिबद्धता राखेर मत माग्ने समय समेत दिइएको थियो । प्रतिस्पर्धी विद्यार्थीहरूले आफ्नो योजना सहित विद्यालयमा रहेका विद्यार्थीहरूलाई मत मागेका थिए ।

Bijayaswori-School-1722927740.jpeg
आइतबार दिनभरि प्रचार प्रसारको लागि समय प्रदान गरी बेलुका ५ बजेदेखि मौन अवधि लागु गरेर प्रचारप्रसारमा रोक लगाइएको थियो । सोमबार बिहान ११ बजेदेखि विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको लागि दुई वटा मतदान केन्द्र निर्धारण गरेर मतदान गराइएको थियो । निर्वाचन सम्पन्न गराउन शिक्षक होमराज शाहीलाई निर्वाचन आयोगको प्रमुख, खगेश्वर भण्डारीलाई निर्वाचन आयुक्त, पुष्पराज अधिकारी र गोपाल थापालाई सहायक निर्वाचन अधिकारीको जिम्मेवारी तोकिएको थियो ।

विद्यार्थीहरूलाई उम्मेदवारको नाम लेखिएको मतपत्रमा क्याप्टेन र भाइस क्याप्टेन पदको चुनाव चिन्हमा मत सङ्केत गरेर मतदान गर्न लगाइएको थियो । मतदानलाई सम्पन्न गर्न विद्यार्थीहरूलाई नै सुरक्षाकर्मीको भूमिकामा परिचालन गरिएको थियो भने विद्यालय सञ्चालक एवं प्रिन्सिपल जयबहादुर थापा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अनिता कुमाईं भण्डारीले चुनावको अनुगमन गर्नु भएको थियो ।  

मतगणनापछि विजयी उम्मेदवारहरूलाई बधाई ज्ञापन गर्दै विद्यालयका सञ्चालक एवं प्रिन्सिपल जयबहादुर थापाले विद्यार्थीका समस्याबारे ध्यानाकर्षण गराउन, विद्यालयको अतिरिक्त क्रियाकलापहरूमा सहजीकरण गर्न र विद्यार्थीहरूमा नेतृत्व क्षमताको विकास गर्न विद्यार्थीहरूबाटै क्याप्टेन र भाइस क्याप्टेन चयन गरिएको जानकारी दिँदै सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्नुभएको थियो ।

e0f53d3d-0a04-4053-a4e9-c067df047b7f-1722927855.jpeg

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update