जिल्ला अस्पताल रुकुम पश्चिमले पछिल्लो समय जिल्लावासीको मन जित्दै गएको छ । सेवा प्रवाहका हिसाबले जिल्ला अस्पताल दिन प्रतिदिन अब्बल बन्दै गइरहेको छ । हालसम्म महिला तथा स्त्री रोग र हाड जोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा प्रवाह भइरहेकामा भर्खरै मात्र बाल रोग विशेषज्ञ सेवा समेत थप भएको छ । जिल्ला अस्पताल स्थापना भएपछि पहिलो पटक बाल रोग विशेषज्ञ सेवा सुरु भएको हो । करिब २५ महिना स्वास्थ्य सेवा व्यवस्थापकका रूपमा कार्यरत हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर सुशील पोखरेल भर्खरै सरुवा भएपछि उहाँको ठाउँमा आउनुभएको छ बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाई । हामीले डाक्टर चौलागाईसँग जिल्ला अस्पतालको हालको सेवा प्रवाह, सेवा प्रवाहमा देखिएका चुनौती र आगामी प्राथमिकताका विषयमा केन्द्रित भएर संवाद गरेका छौँ । उक्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
तपाई जिल्ला आएपछि यहाँको स्वास्थ्य सेवा प्रवाहलाई कसरी हेर्नुभएको छ र अब तपाइएको योजनामा के छ ?
म निमित्त स्वास्थ्य सेवा व्यवस्थापक भएर भर्खरै जिल्ला आउँदा महिला रोग र हाड जोर्नी विशेषज्ञ सेवा सुरु भइसकेको थियो । म बाल रोग विशेषज्ञ भएर आइसकेपछि जिल्लाबाट अब तीन वटा विशेषज्ञ सेवा सुरु भएको छ । र यी सेवा जनताले पाइरहनुभएको छ ।
यसअघि स्वास्थ्य सेवा व्यवस्थापकका रूपमा कार्यरत हाड जोर्नी विशेषज्ञ डाक्टर सुशील पोखरेल जिल्लाबाट सरुवा भएर गएपछि अब यो सेवा के हुन्छ भनेर धेरैले जिज्ञासा राखेको देखिन्छ । यसबारेमा बताइदिनुहोस् न ।
पहिलाका कार्यालय प्रमुख डाक्टर सुशील हाड जोर्नी विशेषज्ञ हुनुहुन्थ्यो । उहाँ गएपछि केही समय यो सेवा रोकिएको छ । हामीले यसका लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय, सङ्घको स्वास्थ्य मन्त्रालयमा पहल गरिरहेका छौँ । सचिव ज्युहरूले पनि जनशक्ति व्यवस्थापनका लागि पहल गरिरहनुभएको छ । अस्पताल विकास समितिमा पनि कसरी १ महिना भित्रमा सेवा सुचारु गर्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ । मलाई लाग्छ १ वा २ महिना भित्र यो सेवा सुचारु हुन्छ ।
डाक्टर सुशील पोखरेल गएपछि हाड जोर्नी सम्बन्धी सबै सेवा रोकिएको भनेर बाहिरी बुझाई छ । हाड जोर्नी तथा नसा सम्बन्धी सबै सेवा रोकिएको हो ?
हाड जोर्नी सम्बन्धी प्रदेशबाट खटाइनुभएका डाक्टर अहिले पनि हामीसँग हुनुहुन्छ । उहाँले गर्न सक्ने ओपिडी सेवा, माइनर अप्रेसन जस्तै तार हाल्ने, किला, नेल हाल्ने जस्ता सेवाहरू जारी नै छन् । मेजर अप्रेसन मात्र रोकिएको हो । यो पनि धेरै लामो समय रोकिन्न ।
तपाई आएपछि बाल रोग विशेषज्ञ सेवा सुरु गर्नुभएको छ । तपाई आएपछि बाल रोग सम्बन्धी कस्ता सेवाहरू सुरु भएका छन् ?
रुकुम जिल्लाका लागि बाल रोग विशेषज्ञ सेवा नयाँ हो । २०४५ सालमा अस्पताल स्थापना भएदेखि हालसम्म यहाँ बाल रोग विशेषज्ञ सेवा थिएन । म आइसकेपछि बाल ओपिडी सञ्चालन गरेको छु । बच्चाको छुट्टै वार्ड सञ्चालनमा ल्याएको छु । हप्तामा तीन दिन आइतबार, मङ्गलवार र बिहीबार गरी हप्तामा तीन दिन बाल ओपिडी सेवा दिइरहेको छु । नर्मल अक्सिजनको प्रयोगबाट मात्र हालसम्म जिल्लामा उपचार भइरहेको थियो अहिले भने कडा खालको अक्सिजनको प्रयोग (सिप्याप)बाट पनि उपचार सेवा सुचारु गरेको छु । आइसियु सेवा (एनआइसियु/पिआइसियु) सेटअपको लागि विभिन्न मन्त्रालय तथा कार्यालयहरूसँग सल्लाह भइरहेको छ । उपकरण र सामग्रीका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र सङ्घको स्वास्थ्य मन्त्रालयमा पहल भइरहेको छ । निवेदन दिएको छौँ । केही महिनामै जिल्लामा आइसियु सेवा पनि सञ्चालन हुन्छ ।
जिल्ला अस्पतालमा अप्रेसनबाट प्रसूति सेवा केही वर्ष देखि नै सञ्चालनमा छ । बाल रोग विशेषज्ञ तथा आइसियु लगायतका उपकरण नहुँदा जटिल खालको अवस्थामा जिल्ला बाहिर रिफर गर्नुपर्ने अवस्था थियो । अब तपाई बाल रोग विशेषज्ञका रूपमा जिल्ला आएपछि यो समस्या हल भएको भन्न मिल्छ ?
हामीसँग अहिले पनि महिला तथा स्त्री रोग विशेषज्ञ हुनुहुन्छ । जटिलता भएको अवस्थामा बाल रोग विशेषज्ञ नभएको र आइसियु नभएको अवस्थामा जोखिम लिने अवस्था थिएन । बाहिर पठाउनुपर्थ्यो । अब म आइसकेपछि आइसियु अप नहुँदासम्म पनि केही हदसम्म जोखिमको अवस्थामा पनि यही डेलिभरी गराएर कडा खालको अक्सिजनको प्रयोग (सिप्याप)बाट उपचार गर्न सकिन्छ । जिल्ला बाहिर रिफर गर्ने समस्या धेरै हदसम्म अब हल हुन्छ ।
अब जिल्ला अस्पतालबाट कस्तो खालको बाल रोग सेवा प्रवाह हुन्छ ?
अहिले तत्काललाई बच्चाको कुनै अङ्ग फेल हुने अवस्थामा जाँदैन जस्तै निमोनियाले सास फेर्न गाह्रो भयो भने जिल्लामै उपचार हुन्छ तर फोक्सो नै फेल भएको अवस्थामा जिल्ला बाहिर पठाउनुपर्छ । सजिलोमा भन्दा आइसियु र भेन्टिलेटरमा राख्नुपर्ने बाहेक अन्य अवस्थामा यही उपचार हुन्छ । तर हामी आइसियुको व्यवस्था गरेर अङ्ग फेल भएको अवस्थामा पनि यही राखेर उपचार गर्छौँ ।
जिल्लामा आइसियुको व्यवस्था कहिले हुन्छ ?
कोभिडको बेलामा पनि भेन्टिलेटर आएको थियो । त्यति बेला जनशक्ति र अक्सिजन प्लान्टको अभावमा उक्त भेन्टिलेटर प्रयोगमा आउन सकेको थिएन । यसका लागि अक्सिजन प्लान्ट अनिवार्य हो । म आइसकेपछि आइसियु र भेन्टिलेटर सेटअपका लागि आवश्यक पर्ने उपकरणको माग मैले गरेको छु । यसअघि आएको भेन्टिलेटर र अब बच्चा तथा अन्य व्यक्तिका लागि आइसियुका लागि आवश्यक उपकरण र सामग्रीको व्यवस्था गरेर छिट्टै यो सेवा सञ्चालनमा ल्याउँछौ ।
पछिल्लो समय जिल्ला अस्पतालको सेवाको तारिफ भइरहेको छ । जिल्ला अस्पतालको भवन पनि निर्माण भइरहेको छ । अब जिल्ला अस्पतालको सेवालाई थप विस्तार र गुणस्तरीय बनाउन तपाइको पहल के हुन्छ ?
२०४५ सालको संरचनामा काम गर्न र सेवा प्रवाह गर्न समस्या भएको छ । अब नयाँ भवन बन्यो भने छुट्टा छुट्टै फाँट हुन्छ । फरक फरक ठाउँबाट फरक फरक सेवा प्रवाह हुन्छ । यसले गर्दा सेवा प्रवाहमा निकै सहजता आउने छ । अहिले हामीसँग तीन वटा विशेषज्ञ सेवाहरू छन् । अब हामीले एक जना एमडीजिपी डाक्टर ल्याउने प्रयास गरिरहेका छौँ । यसका लागि प्रदेश तथा सङ्घमा पनि पहल भइरहेको छ । उहाँ आउनु भयो भने चार जना विशेषज्ञ डाक्टर जिल्लामै रहने अवस्था हुन्छ र सेवा प्रवाहमा पनि धेरै सहजता आउने छ । नयाँ भवनमा चार वटा विशेषज्ञ सेवा सहित हामी अगाडी बढ्छौ ।
५० शय्याको अस्पताल भवन निर्माण कहिले सकिन्छ ?
हामीले पाएको जानकारी अनुसार पछिल्लो पटक ६ महिनाको म्याद थप भएको बुझिएको छ । अबको ६ महिनामा अस्पताल भवन हस्तान्तरण हुने देखिन्छ ।
भौतिक पूर्वाधार बाहेक अरू चुनौती के छन् ?
१५ शय्याको अस्पतालबाट ५० शय्याको सेवा दिइरहेका छौँ । सरकारले १५ शय्याका लागि जनशक्ति र उपकरण उपलब्ध गराउँछ तर हामीले ५० शय्याको सेवा दिनुपर्दा समस्या भएको छ । हामीसँग जनशक्तिको धेरै नै अभाव छ । हरेक कक्षमा सीमित जनशक्ति हुनुहुन्छ । हामीले जनशक्ति अभावमा चुस्त दुरुस्त सेवा दिन पाएका छैनौँ । सेवा प्रवाहमा ढिलाइ भइरहेको छ ।
पालिकामा पनि अस्पतालहरू छन् । उनीहरूसँगको समन्वय कस्तो छ ?
यो पाटो निकै महत्त्वपूर्ण छ । पालिका अस्पतालहरूले त्यहाँ आउने बिरामीको समस्याको बारे हामीसँग समन्वय गरे भने सेवा प्रवाहमा सजिलो हुन्छ र थप उपचारका लागि जिल्ला अस्पतालमा पठाउन पनि सहज हुन्छ । समन्वयको पाटोमा हामीले जोड दिएका छौँ । हामीले बेला बेलामा विभिन्न अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रमहरू गरिरहेका छौँ । साथै नियमित रूपमा सेवा प्रवाह, भौतिक संरचना लगायतका विषयमा जिल्लाबाट अनुगमन निरीक्षणहरू पनि भइरहेका छन् ।
कखराका लागि मनिष खड्काले गरेकाे कुराकानी ।