रुकुम पश्चिममा पहिलो पटक स्केट पार्क निर्माण हुँदै छ । रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर २ प्वाङका गङ्गाराम खड्काले व्यक्तिगत लगानीमा मुसिकोट नगरपालिका वडा नम्बर १ मठमा स्केट पार्क निर्माण गर्न लाग्नुभएको हो । विशेष गरी युवा युवतिहरूलाई लक्षित गरेर जिल्लामै नयाँ स्केट पार्क निर्माण गर्न लागेको खड्काले बताउनुभयो ।
घर सहित आवश्यक संरचना निर्माणको काम लगभग सकिएको र अव मार्बल लगाउने काम भइरहेको उहाँको भनाई छ । भदौ पहिलो सातासम्म उद्घाटन गर्ने गरी पार्क निर्माण भइरहेको बताइएको छ । सञ्चालक खड्काका अनुसार हालसम्म करिब २५ देखि ३० लाखसम्म खर्च भएको छ । करिब २ रोपनी क्षेत्रफलमा पार्क निर्माण भइरहेको छ ।
बन्द हलमा स्केटिङ गर्ने व्यवस्था गरिएको छ भने पार्क स्थलमा पार्किङको समेत सुविधा रहेको छ । १ पटकमा कम्तीमा ५० जनाले सँगै स्केटिङ गर्न मिल्ने सञ्चालक खड्काले बताउनुभयो । पार्क निर्माणको काम यसै महिनाबाट सुरु भएको हो । खेल पर्यटनमा समेत यसले टेवा पुग्ने विश्वास गरिएको छ ।
सञ्चालनमा आएपछि जिल्लामा यो नै पहिलो स्केट पार्क हुने छ । जिल्लावासीका लागि नयाँ भए पनि अन्य ठाउँमा यसको महत्त्व धेरै रहेको र जिल्लावासीले पनि बिस्तारै यसका बारेमा बुझ्दै जाने सञ्चालक खड्काले बताउनुभयो । पार्क सञ्चालनमा आयो भने निश्चित शुल्क तिरेर पार्कमा स्केटिङ गर्न पाइने छ ।