Kakhara सबैको खबर सम्पूर्ण खबर
चार विद्यालयका २८ विद्यार्थीलाई निःशुल्क चस्मा वितरण 

रुकुम (पश्चिम)को मुसिकोट नगरपालिका भित्रका ४ वटा विद्यालयका २८ विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको छ । नगरपालिकाको ४ नम्बर वडामा रहेको वाल कल्याण मावि सोलाबाङका ९ जना र सिस्ने एकेडेमी बोर्डिङ स्कुल सोलाबाङका ६ जना विद्यार्थीलाई चस्मा वितरण गरिएको हो । त्यस्तै १२ नम्बर वडामा रहेको जनकल्याण मावि काँसपोखरीका १० जना र नेपाल राष्ट्रिय आधारभूत विद्यालय जमारुका ३ जना विद्यार्थी गरी जम्मा २८ जना विद्यार्थीलाई निःशुल्क चस्मा वितरण गरिएको छ । 

मुसिकोट नगरपालिका र ४ नम्बर वडा कार्यालयको सहजीकरणमा नेपाल नेत्र ज्योति सङ्घद्वारा सञ्चालित एकीकृत आँखा तथा कान स्वास्थ्य कार्यक्रम अन्तर्गत निःशुल्क चस्मा वितरण गरिएको संस्थाकी सामुदायिक संयोजक पूर्णिमा शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि आँखा जाँच गर्दा चस्मा प्रयोग गर्नुपर्ने समस्या देखिएका विद्यार्थीहरूलाई मङ्गलवार निःशुल्क चस्मा वितरण गरिएको हो । 

कार्यक्रममा नगर प्रमुख महेन्द्र केसी, ४ नम्बर वडा अध्यक्ष निर्मलकुमार पुन, आधारभूत स्वास्थ्य सेवा केन्द्र कोटचौताराकी सिनियर अहेव सुमित्रा रोकाय, आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसी र संस्थाका चौरजहारी नगरपालिकाका सामुदायिक संयोजक टेकबहादुर खड्का लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update