रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा रहेको वेस्टर्न न्यु लाइफ हस्पिटल प्रालि तनावग्रस्त बनेको छ । त्यहाँ उपचार पश्चात् रेफर गरिएकी एक महिलाको बाटोमा मृत्यु भएपछि तनावग्रस्त बनेको हो । मङ्गलवार उपचारको लागि बाँफिकोट गाउँपालिका वडा नम्बर ७ दुलिङ्गाकी ३४ बर्सिया विमला खत्री हस्पिटलमा आउनुभएको थियो । त्यहाँ उपचार पश्चात् जिल्ला अस्पताल सल्ले लगिएको र जिल्ला अस्पताल सल्लेले नेपालगन्ज रेफर गरेकामा खत्रीलाई नेपालगन्ज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
बाटोमा मृत्यु भएकी विमलाको शवलाई आफन्तले मध्यरातमा अस्पतालमा ल्याएका थिए । मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै सडक समेत अवरुद्ध पारेका छन् । बिहानै देखि सहज रूपमा सवारी साधन आवतजावत हुन सकेको छैन ।
शव हस्पिटलमै रहेको र त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कडा सुरक्षा दिइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकका आफन्त र हस्पिटलका प्रतिनिधि बिच जिल्ला प्रहरी कार्यालयमा छलफल भइरहेको छ । मृतकका परिवारले भने डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन् ।
तर हस्पिटलले भने बिरामीको उपचारमा कुनै लापरबाही नभएको र केही समयमै जिल्ला अस्पतालमा रिफर गरिएको जनाएको छ । उपचारमा ल्याइनु अघि नै अन्य स्वास्थ्य संस्थामा बिरामीको उपचार चलेको हस्पिटलले जनाएको छ । उपचारका लागि ल्याइएपछि बिरामीको अवस्था हेरेर केही समय मै जिल्ला अस्पताल पठाइएको र त्यहाँबाट पनि नेपालगन्ज पठाएको अवस्थामा बिरामीको बाटोमा मृत्यु भएको भएपछि तिम्रो गल्तीले बिरामीको मृत्यु भयो भन्नु न्यायिक नभएको अस्पतालको भनाई छ । जिल्ला प्रहरी कार्यालयमा यस विषयमा छलफल जारी छ ।