रुकुम पूर्वको कमल ताल यति बेला भरिभराउ छ । मनसुनको बेला यो तालको सुन्दरता थप बढ्छ । ताल यति बेला भरिभराउ छ भने ढकमक्क कम फुलेर ताल अझै सुन्दर देखिएको छ । सिस्ने गाउँपालिका ५ रुकुमकोटमा अवस्थित यो ताल अति नै सुन्दर छ ।
ताल कमलले झपक्कै ढाकिएको छ भने कमल फूलले अझै रङ्ग थपेको छ । यो समय तालको पानी भन्दा पनि बढी कमल देखिन्छ । अहिले फूलेको कमका डाँठ कार्तिक मङ्सिर तिर निकालिन्छ ।
सिङ्गो रुकुम जिल्ला बाउन्न पोखरी त्रिपन्न टाकुरीका नामले परिचित थियो । त्यसमध्येको कमल ताल महत्त्वपूर्ण ताल थियो । यो ताल उत्पत्तिका विषयमा कुनै ठोस प्रमाण नभेटिए पनि धार्मिक तथा पर्यटकीय महत्त्व बोकेको यो ताल धार्मिक हिसाबले समेत महत्त्वपूर्ण छ । बर्सेनि शिवरात्रि, चैत्रे दसैँ, हरितालिका तिज, बडादसैँ लगायतका चाडपर्वमा यहाँ मानिसहरूको घुइँचो लाग्ने गर्दछ ।
तालमा नुहाएमा विभिन्न रोगहरू निको हुने जनविश्वास रहेको पाइन्छ । रुकुमकोटको बाहुनथानामा अवस्थित यो तालको क्षेत्रफल १.९५ वर्ग कि.मि.छ । यहाँ नुहाउँदा पाप नाश हुन्छ भन्ने धार्मिक किम्बदन्ती अनुसार माघे सङ्क्रान्तिमा तीर्थयात्रीहरू आएर नुहाउने चलन पनि छ ।
यो ताल सुन्दर र मनमोहक हुनुका साथै नेपालमा पाईने कमल मध्ये सबैभन्दा राम्रो कमल यही तालमा पाइन्छ भनिन्छ । कमलको जरा स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । यो महँगोमा बिक्री समेत हुने गरेको छ ।
कमल ताल संरक्षणका लागि गाउँपालिका, प्रदेश र सङ्घ सरकारले पनि काम गरिरहेको छ । हाल ताल संरक्षण अन्तर्गत तालको वरिपरि विभिन्न संरचनाहरू निर्माण भएका छन् । तालको परिक्रममा गर्न स्तरीय पदमार्ग निर्माण गरिएको छ । ठाउँ ठाउँमा प्रतीक्षालय छन् । तालको छेउछाउमा मन्दिर तथा शिव मूर्ति समेत राखिएको छ ।
मध्यपहाडी लोकमार्गको छेउमा पर्ने यो तालमा पर्यटकीय गतिविधि बढेका छन् । रुकुम पश्चिम, बागलुङ, रोल्पा, पर्वत, म्याग्दी, कास्की लगायतका जिल्लाबाट यो ताल अवलोकनका लागि आन्तरिक पर्यटकहरू समेत आउन थालेका छन् । दैनिक जसो ठुलो सङ्ख्यामा ताल अवलोकनका लागि विभिन्न ठाउँबाट मानिसहरू पुग्ने गरेका छन् ।
ताल वरिपरि कङक्रिटका संरचना निर्माण गरिनुले भने तालको अस्थित्व माथि प्रश्न उठिरहेका छन् । जथाभाबी संरचना निर्माण गरिएपछि तालको भविष्यमाथि चिन्ता बढ्न थालेको हो । यो वर्षको हिउँदमा तालको सतह निकै घटेकोले यो चिन्तालाई थप बढाएको छ । ताल सङ्कटमा नपर्ने गरी यसको संरक्षण हुनुपर्नेमा सरोकारवालाको जोड छ ।
फाेटाेः उदय केसी ।