रुकुम पश्चिमको बाँफिकाेट गाउँपालिका वडा नम्बर २ स्थित लामाचाैर पहिरो नेकपा माओवादी केन्द्रले हटाएको छ । नेकपा माओवादी केन्द्र २ नम्बर वडा कमिटीको सक्रियतामा पहिरो हटाइएको हो ।
लामो समयसम्म वडा तथा पालिका सरकारले पहिरो पन्छ्याउन नसकेपछि पार्टीको पहलमा पहिरो पन्छ्याएको नेकपा माओवादी केन्द्र २ नम्बर वडाले जानकारी दिएको छ । करिब २० दिन अघि झरेको पहिरो पार्टीले हटाइएको हो ।
पहिरो पन्छ्याए सँगै बन्द रहेको सडक पनि सुचारु भएको छ । सडकमा पहिरो झरेका कारण विशेष गरेर विद्यार्थी, पशु चौपाया तथा स्थानीयलाई आवतजावत गर्न समस्या भएको थियो । अब सहज हुने भएको छ ।
सडक बन्द हुँदा वैकल्पिक सडकको रूपमा सवारी साधनले लामो सडक खण्ड प्रयोग गर्नुपर्ने बाध्यता थियो । कुनाखेत थारकाट्टे भलाचौर सडक खण्ड वैकल्पिक रूपमा प्रयोग गरिएको थियो । उक्त सडक खण्ड पनि बर्सातका कारण खोल्सा परेका कारण यात्रा गर्न जोखिम रहेको थियो ।
पार्टीका ३० जना सदस्यले एक दिनको श्रमदानबाट ठुलो पहिरो पन्छ्याइएका हुन् । स्थानीय सरकारले पन्छ्याउन नसकेको पहिरो पार्टीले पन्छ्याएर सडक सुचारु गरे पछि नागरिकलाई सहज भएको नेकपा माओवादी केन्द्र बाँफिकोटका अध्यक्ष चन्द्रबहादुर केसीले बताउनुभयो ।
‘पहिरोका कारण सडक खण्ड अवरुद्ध थियो, यसकै कारणले आवतजावत गर्न समस्या भइहरेको थियो, स्थानीय सरकारले पहिरो हटाउन सकेको थिएन, अध्यक्ष केसीले भन्नुभयो–पार्टीको सक्रियतामा पहिरो हटाएका छौ, यो उदाहरणीय कार्य हो, भोलीका दिनहरूमा पनि श्रमदान मार्फत हटाउन सकिने उदाहरण पार्टीले दिएको छ ।’
कमजोर भूगोलका कारण हरेक बर्सातको समयमा यस क्षेत्रमा झरेको पहिरोका कारण यात्रु तथा सर्वसाधारणले सास्ती पाउने गरेका छन् ।।