बुधवारबाट सुरु भएको माध्यमिक शिक्षा परीक्षा एसइई परीक्षामा रुकुम पूर्वबाट ६ सय ७९ जना विद्यार्थी सहभागी भएका छन् । विभिन्न २५ वटा विद्यालयका तीन सय १९ छात्र र तीन सय ६० छात्रा परीक्षामा सहभागी भएको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमले जानकारी दिनुभयो । जिल्लामा दुई वटा परीक्षा केन्द्रमा बुधवार अङ्ग्रेजी विषयको परीक्षा भएको छ ।
ग्रेड वृद्धिका लागि सिस्ने गाउँपालिका वडा नम्बर ५ स्थित रुक्मिणी माध्यमिक विद्यालय र ६ नम्बर वडाको त्रिभुवन माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ । रुक्मिणी माविको परीक्षा केन्द्रबाट विभिन्न १४ वटा विद्यालयका दुई सय १३ छात्रा र एक सय ७३ छात्र गरी कुल तीन सय ८६ जना विद्यार्थीले परीक्षा दिएका छन् भने त्रिभुवन माविबाट एक सय ४७ छात्रा र एक सय ४६ छात्र गरी कुल दुई सय ९३ जनाले परीक्षा दिएको शिक्षा इकाई रुकुम पूर्वले जानकारी दिएको छ ।
परीक्षामा सहभागी विद्यार्थी मध्ये छात्राहरूको सहभागिता बढी रहेको छ । पूरक परीक्षामा सहभागी कुल विद्यालय मध्ये त्रिभुवन मावि छिप्रीदहबाट सबै भन्दा बढी ७० जना विद्यार्थी परीक्षामा सहभागी भएका छन् भने सबै भन्दा कम सिस्ने १ को बल्लेचौर माविबाट दुई जना विद्यार्थी सहभागी भएको शिक्षा इकाई प्रमुख गौतमले जानकारी दिनुभयो ।