Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिम जिल्ला अस्पतालमा पहिलो पटक बाल रोग विशेषज्ञ सेवा सुरु 

रुकुम पश्चिम जिल्ला अस्पताल सल्लेमा पहिलो पटक बाल रोग विशेषज्ञ सेवा सुरु भएको छ । बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाई निमित्त स्वास्थ्य सेवा व्यवस्थापकका रूपमा भर्खरै जिल्ला आएपछि जिल्लामा पहिलो पटक बाल रोग विशेषज्ञ सेवा सुरु भएको हो । जिल्ला अस्पतालमा बाल रोग विशेषज्ञ सेवा सुरु भएको यो नै पहिलो पटक हो । २०४५ सालमा स्थापना भएको जिल्ला अस्पतालमा हालसम्म बाल रोग विशेषज्ञ सेवा थिएन । जिल्ला अस्पतालबाट महिला तथा स्त्री राेग र हाडजाेर्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा प्रवाह भइरहेकाेमा अब बाल राेग विशेषज्ञ सेवा पनि थपिएकाे छ ।  

आफू निमित्त स्वास्थ्य सेवा व्यवस्थापकका रूपमा आइसकेपछि जिल्लामा बाल रोग विशेषज्ञ सेवा दिन सुरु गरेको बाल रोग विशेषज्ञ डाक्टर चौलागाइले जानकारी दिनुभयो । अहिले जिल्ला अस्पतालमा हप्तामा तीन दिन आइतबार, मङ्गलवार र बिहीबार बाल ओपिडी सेवा सुरु भएको उहाँको भनाई छ । हप्ताका सबै दिन ओपिडी सेवा सञ्चालन गर्ने तयारी गरिए पनि ठाउँ अभावमा तीन दिन मात्र सेवा सुरु गरिएको उहाँको भनाई छ । 

जिल्लामा हालसम्म नर्मल अक्सिजनको प्रयोगबाट मात्र हालसम्म बालबालिकाको उपचार भइरहेकामा अहिले भने कडा खालको अक्सिजनको प्रयोग (सिप्याप)बाट पनि उपचार सेवा सुचारु गरेको बाल रोग विशेषज्ञ डाक्टर चौलागाइले बताउनुभयो । उहाँका अनुसार तत्कालै आइ.सी.यु. सेवा सुरु गर्ने तयारी थालिएको छ । आइसियु सेवा (एन.आइ.सी.यु./पि.आइ.सी.यु) सेटअपको लागि विभिन्न मन्त्रालय तथा कार्यालयहरूसँग पहल भइरहेको उहाँले बताउनुभयो ।

‘उपकरण र सामग्रीका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र संघको स्वास्थ्य मन्त्रालयमा पहल भइरहेको छ । निवेदन दिएको छौँ । केही महिनामै जिल्लामा आइ.सी.यु. सेवा पनि सञ्चालन हुन्छ ।’ उहाँले भन्नुभयो । आइसियु र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाहेक सबै बालबालिकाको उपचार अब जिल्लामै भइरहेको उहाँले बताउनुभयो । 

जिल्ला अस्पतालमा विगत केही वर्ष देखि महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर केहलविक्रम जिसीले सेवा दिइरहनुभएको छ । जटिल खालको अवस्थामा शल्यक्रिया मार्फत जिल्लामै प्रसूति सेवा प्रवाह भइरहेको छ । तर बाल रोग विशेषज्ञ नहुँदा जोखिम लिने अवस्था थिएन भने धेरै गर्भवतीलाई जिल्ला बाहिर रिफर गर्ने गरिएको थियो । अब भने उक्त अवस्थामा कमी आउने र आइसियु सेवा सुरु भएमा पूर्ण रूपमा अन्त्य हुने बाल रोग विशेषज्ञ डाक्टर चौलागाइले बताउनुभयो । 

‘हाल आइसियु नभए पनि केही हदसम्म जोखिमको अवस्थामा पनि यही डेलिभरी गराएर कडा खालको अक्सिजनको प्रयोग (सिप्याप)बाट उपचार गर्न सकिन्छ, उहाँले भन्नुभयो–जिल्ला बाहिर रिफर गर्ने समस्या धेरै हदसम्म अब हल हुन्छ ।’ केही महिना मै जिल्ला अस्पतालमा आइसियु सेटअपको काम सुरु हुने बताइएको छ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update