Kakhara सबैको खबर सम्पूर्ण खबर
चन्द्रबहादुरद्वारा व्यक्तिगत रूपमा ७ वटा विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री सहयोग 
प्रभात मावि दाेपाईका प्रअ विजय ओलीलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गर्दै चन्द्रबहादुर विष्ट ।

रुकुम पश्चिमका एक युवा समाजसेवीले व्यक्तिगत लगानीमा ७ वटा विद्यालयमा खेलकुद तथा शैक्षिक सामग्री सहयोग गरेका छन् । मुसिकोट नगरपालिका वडा नम्बर १४ का चन्द्रबहादुर विष्टले वडाका सबै ७ वटा विद्यालयमा शैक्षिक सामग्री तथा खेलकुदका सामग्री सहयोग गर्नुभएको हो । उहाँले प्रति विद्यालय १० हजार मूल्य बराबरका सामग्री सहयोग गर्नुभएको छ ।

सबै विद्यालयमा फुटबल, भलिबल, भलिबल नेट, कपी र कलम लगायतका ७० हजार बढी मूल्य बराबरका सामग्री सहयोग गर्नुभएको हो । विष्टले प्रभात माध्यमिक विद्यालय दोपाई, चन्द्रगंगा आधारभूत विद्यालय त्रिसुले, दियो आधारभूत विद्यालय छिबाङ खोला, जनप्रिय आधारभूत विद्यालय सतिपोले, जनहित आधारभूत विद्यालय लोरीबाङ, जनजागृति आधारभूत विद्यालय घुयलडाँडा र ज्ञान कुञ्ज आधारभूत विद्यालय झिमडाँडामा शैक्षिक तथा खेलकुद सामग्री वितरण गर्नुभएको हो ।

गरिब, विपन्न तथा जेहनदार लगायतका विद्यार्थीका लागि शैक्षिक सामग्री र अध्ययनरत सबै विद्यार्थीका लागि खेलकुदका सामग्री सहयोग गरेको विष्टले जानकारी दिनुभयो । शैक्षिक सुधारका लागि आफूले व्यक्तिगत लगानीमा विद्यालयहरूलाई सामग्री सहयोग गरेको उहाँको भनाई छ । विद्यालयप्रति कुनै पनि सरोकारवाला निकायले चासो नदेखाएकोले आफूले सहयोग गरेको विष्टले बताउनुभयो । आफ्नो सानो लगानीले पनि शैक्षिक गुणस्तरमा ठुलो टेवा पुग्ने उहाँको विश्वास छ ।

5d90a369-2c76-4510-9ed2-84371a83853d-1723119976.jpeg
उहाँ समाजसेवामा अग्रसर हुनुहुन्छ । विष्टले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । समाजको बृहत्तर हितका लागि आफूले सकेको सहयोग गर्दै आएको र आगामी दिनमा समेत यो कार्यलाई जारी राख्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यालयहरूले उहाँलाई धन्यवाद समेत दिएका छन् । शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा सम्बन्धित विद्यालयका शिक्षकहरू तथा विभिन्न सरकारवाला निकायहरूको उपस्थिति रहेको थियो । विष्टले २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका तर्फबाट मुसिकोट १४ को वडाध्यक्षको चुनाव लड्नुभएको थियो । उहाँ झिनो मतान्तरले पराजित हुनुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१  १८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update